फिल्म टिका: स्टेटलेस सोल को छायांकन कास्कीको पामेबाट आइतबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। ४० दिने छायांकन तालिका रहेको यो फिल्म गण्डकी प्रदेशका विभिन्न लोकेसनसहित काठमाडौं लगायतका स्थानमा समेत खिचिनेछ।
निर्माण टिमका अनुसार फिल्मको करिब ३० दिन कास्कीमै छायांकन हुनेछ। पोखरा, पामे, सराङकोट र निरभाने लगायतका क्षेत्रलाई प्रमुख दृश्यांकन स्थलका रूपमा चयन गरिएको छ। कार्यकारी निर्माता तेजबिक्रम केसीका अनुसार यी प्राकृतिक लोकेसनहरूले फिल्मको कथालाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ।
भविष्य फिल्म्स प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका निर्माता भविष्य खड्का हुन्। यसअघि नै निर्माण टिमले फिल्म आगामी भदौ २६ गते तीजको अवसरमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ।
निर्देशक शंकर कार्की रहेको फिल्मलाई महिला–प्रधान कथावस्तुमा आधारित परियोजनाका रूपमा प्रस्तुत गरिएको छ। मुख्य सहायक निर्देशकमा आकाश उखेडा र जीवन ढुंगेल रहेका छन्।
फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकाल प्रमुख भूमिकामा देखिनेछन्।
सिनेमाटोग्राफी नरेन्द्र मैनालीले गरेका छन्। कथावस्तु शंकर कार्की र चन्दन झाको संयुक्त लेखन हो भने पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बिटी कान्छा) ले सम्हालेका छन्। संगीत कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीले दिएका छन्।