काठमाडौं । सामाजिक यथार्थ र नैतिक द्वन्द्वलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ, जसले कथाको बहुआयामिक चरित्र र भावनात्मक उतारचढावको संकेत गर्छ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक उप्रेतीका अनुसार ‘भागदौड’ ले लोभ, लालच, जालझेल र ठगीले ग्रसित मानव जीवनको नैतिक संकटलाई उजागर गर्नेछ। कथाले मानिसको स्वार्थले कसरी सम्बन्ध, विश्वास र मूल्य–मान्यतामा असर पुर्याउँछ भन्ने पक्षलाई चित्रण गर्ने प्रयास गरेको छ।
फिल्मको कथा काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेवार बस्ती बुङमती र बागमती नदी आसपासको परिवेशमा आधारित छ। प्रस्तुतकर्ता विश्वराम बिष्टका अनुसार फिल्मले बुङमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति तथा नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सह–अस्तित्वलाई पर्दामा उतार्नेछ। साथै, परम्परागत जीवनशैली र आधुनिक सोचबीचको सन्तुलनलाई पनि कथामार्फत प्रस्तुत गरिनेछ।
विश्वराम बिष्ट प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेकी छन् भने भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सह–निर्माताका रूपमा रहेका छन्। सुप्रिम म्यूजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ।
फिल्मको देशव्यापी वितरण नेशनल सिने ग्रुप नेपालले गर्नेछ।
