0
Shares
काठमाडौं । चर्चित संगीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न भएको विवादपछि स्थानीय एक युवक र एक युवतीले उनीमाथि आक्रमण गरेको जनाइएको छ।
कुटपिटका कारण अविरलको नाक र आँखामुनिको हड्डी भाँचिएको छ। अमेरिकामै रहेका उनका निकट संगीतकार लक्ष्मण पौडेलका अनुसार, अविरलको आँखामा समेत गम्भीर चोट लागेको छ।
घटनापछि उनलाई तत्काल बाल्टिमोरस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। केही समयपछि घटनास्थल पुगेका साथीहरूले उनलाई अस्पताल पुर्याएका थिए।
उपचारमा संलग्न चिकित्सकहरूले उनको नाकको शल्यक्रिया गर्नुपर्ने बताएका छन्। आँखामा लागेको चोटका कारण उनले दृश्य मधुरो देख्न थालेको बताइएको छ।
अविरल विगत एक वर्षदेखि सपरिवार अमेरिकामा बस्दै आएका छन्।