काठमाडौं, जेठ ३० — नेपाली लोकदोहोरीकी चर्चित गायिका विष्णु माझी लामो समयपछि आफ्नै कम्पनीबाहिरको गीतमा स्वर दिएर पुनः चर्चामा आएकी छन्। शनिबार सार्वजनिक भएको ‘झोर्ले हजुर’ बोलको गीतमार्फत उनले बाहिरी प्रोजेक्टमा आफ्नो उपस्थितिको संकेत दिएकी हुन्।
विगत केही वर्षदेखि विष्णु माझीले आफ्नै सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज र दशैं विशेष गीतहरू मात्र सार्वजनिक गर्दै आएकी थिइन्। उनका नयाँ गीत सुन्न स्रोताहरूलाई प्रायः तीजको प्रतीक्षा गर्नुपर्ने अवस्था थियो। तर यसपटक भने तीज आउनुअघि नै फरक स्वादको गीतमार्फत उनले श्रोतालाई सरप्राइज दिएकी छन्।
‘झोर्ले हजुर’मा विष्णु माझीसँग गायक बाबुकृष्ण परियारको पनि स्वर रहेको छ। गीतका शब्द रमेश बिजीले लेखेका हुन् भने संगीत बाबुकृष्ण स्वयंले तयार पारेका छन्। संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका छन्।
मगर समुदायमा अभिवादनका रूपमा प्रयोग हुने शब्द ‘झोर्ले’लाई प्रतीक बनाएर तयार गरिएको गीतले तीजका विरह र वेदनाभन्दा फरक भाव प्रस्तुत गरेको छ। लामो समयपछि विष्णुले बाहिरी प्रोजेक्टमा स्वर दिएपछि लोकदोहोरी क्षेत्रमा यसलाई विशेष चासोका साथ हेरिएको छ।
गीतको भिडिओमा बाबुकृष्ण परियारसँगै सुजैन सिंह खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओमा बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ।
उक्त भिडिओ बाबुकृष्ण परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।