‘अक्षरा’को तीज गीत ‘नाँचौं न बरी लै’ छायांकन सम्पन्न, भदौ २६ मा फिल्म प्रदर्शन हुँदै

0 Shares

काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको आगामी नेपाली फिल्म ‘अक्षरा’ को तीज विशेष गीत ‘नाँचौं न बरी लै’ को छायांकन सम्पन्न भएको छ। सोमबार काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिर परिसरमा गीतको दृश्यांकन गरिएको हो।

तीजको सांस्कृतिक माहोललाई जीवन्त रूपमा प्रस्तुत गर्न छायांकनका लागि मन्दिर क्षेत्रलाई विशेष रूपमा सजाइएको थियो। गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ भने संगीत कर्णराज गिरी र शब्द सुरेन्द्र राणाले सिर्जना गरेका छन्। स्टुडियो तासमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ विजेश्वर राज तण्डुकारले गरेका हुन्।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाले अभिनय गरेका छन्। कोरियोग्राफर रामजी लामिछानेले कलाकारहरूलाई नृत्य निर्देशन गरेका हुन्।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको ‘अक्षरा’ आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय रहेको छ। साथै, बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गरेका छन्।

फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्ममा सुरेन्द्र राणाको शब्द र कर्णराज गिरीको संगीत समावेश गरिएको छ।

फिल्मको छायांकन दीपेन बस्न्यातले गरिरहेका छन्। रामजी लामिछाने कोरियोग्राफर तथा शंकर महर्जन द्वन्द्व निर्देशक रहेका छन्। मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको फिल्मको पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्।

‘अक्षरा’लाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्। फिल्मको मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहरा रहेका छन्।

दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकका रूपमा अनुभव बटुलेका विनयराज पौडेलले ‘अक्षरा’मार्फत स्वतन्त्र निर्देशन यात्राको सुरुआत गरेका हुन्।

सम्बन्धित समाचार

सबै