‘क्याप्टेन साब’को छायांकन सम्पन्न

0 Shares

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘क्याप्टेन साब’ को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको फिल्मको सुटिङ बुधबार औपचारिक रूपमा इन्डक्ल्याप गरिएको निर्माण टिमले जनाएको छ।

फिल्मको पहिलो चरणको छायांकन गत वर्ष साउन १० गतेबाट सुरु गरिएको थियो भने दोस्रो चरणको सुटिङ दुई साताअघि सम्पन्न भएको हो। काभ्रे, काठमाडौं र वीरगञ्जलाई मुख्य लोकेसन बनाएर फिल्मको छायांकन गरिएको छ।

‘क्याप्टेन साब’ व्यवसायी, सञ्चार उद्यमी तथा पाइलट क्याप्टेन रामेश्वर थापाको जीवनकथामा आधारित बायोपिक हो। फिल्ममार्फत उनको संघर्ष, नेतृत्व र व्यावसायिक यात्रालाई पर्दामा उतारिने बताइएको छ।

पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन्।

निर्देशक दीपेन्द्र के खनालले यसअघि फिल्म ‘धनपति’ मा खगेन्द्र लामिछाने र सुरक्षा पन्तलाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए। त्यसपछि यी तीन कलाकारको एउटै फिल्ममा यो दोस्रो सहकार्य हो। दीपेन्द्र र खगेन्द्रले भने लामो समयदेखि विभिन्न परियोजनामा सहकार्य गर्दै आएका छन्।

फिल्मको निर्माणमा निर्देशक दीपेन्द्र स्वयं र करण श्रेष्ठ निर्माता रहेका छन् भने सिर्जना नापित कार्यकारी निर्माताको भूमिकामा छिन्।

दीपेन्द्र के खनालकै लेखन रहेको फिल्ममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइनर, रोहित राज गौतम एचओडी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन्।

छायांकन सम्पन्न भएसँगै निर्माण टिम अब पोस्ट-प्रोडक्सन कार्यमा केन्द्रित भएको छ। फिल्मको प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन।

सम्बन्धित समाचार

सबै