छाउपडी प्रथाविरुद्ध बोल्छ ‘हली’, साउन २२ रिलिजअघि सार्वजनिक भयो टिजर

0 Shares

काठमाडौं । आगामी साउन २२ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ को टिजर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचार अभियानलाई तीव्र बनाउँदै फिल्मको पहिलो झलक दर्शकमाझ ल्याएको हो।

एक मिनेट २८ सेकेन्ड लामो टिजरले नेपाली समाजमा अझै विद्यमान रहेको छाउपडी प्रथा विरुद्ध सशक्त सन्देश दिन खोजेको देखिन्छ। टिजरमा महिनावारी भएकी एक बालिकालाई घरबाट टाढा छाउगोठमा राखिएको दृश्य प्रस्तुत गरिएको छ। परिवारका सदस्य, विशेषगरी बुबाले समेत छोरीको अनुहार हेर्न नहुने अन्धविश्वासले सिर्जना गर्ने पीडा र सामाजिक विभेदलाई मार्मिक ढंगले चित्रण गरिएको छ।

टिजरमा शिक्षित युवाले यस्ता विभेदकारी प्रथाविरुद्ध आवाज उठाउँदै समाजलाई नै कानुनी चुनौती दिएको देखाइएको छ। कथा पुरानो सामाजिक अभ्याससँग जोडिएको भए पनि यसको सन्दर्भ आजको नेपाली समाजसँग प्रत्यक्ष सम्बन्धित रहेको संकेत टिजरले दिएको छ। फिल्मले यस विषयलाई कुन गहिराइमा उठाएको छ भन्ने कुरा भने प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ।

फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक स्वयं मुख्य भूमिकामा देखिएका छन्। उनीसँगै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्ममा व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेका छन्।

यसअघि निर्माण टिमले विशेष प्रचार सामग्रीका रूपमा एउटा गीत सार्वजनिक गरेको थियो, जसमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुति समावेश छ। उक्त गीतले दर्शकमाझ सकारात्मक चर्चा बटुलेसँगै फिल्मप्रतिको उत्सुकता पनि बढाएको छ।

फिल्मको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने केही गीतमा ओम प्रतिक र कविराज गहतराजले संयुक्त रूपमा नृत्य निर्देशन गरेका छन्।

अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा नम्रता भण्डारी सह-निर्माता, लक्ष्मण कर्मचारी लाइन प्रोड्युसर तथा जीवननाथ गौतम मुख्य सहायक निर्देशक रहेका छन्। राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।

फिल्मका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ।

कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने ओएसआर डिजिटल डिजिटल पार्टनरको रूपमा आबद्ध छ। फिल्मको प्रचारप्रसारका लागि विदेशबाट नेपाल आएकी अभिनेत्री सुजता थापा पनि ‘हली’लाई लिएर उत्साहित देखिएकी छन्।

सम्बन्धित समाचार

सबै