काठमाडौं — अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा सँगै देखिने भएका छन्। पछिल्लो समय सुपरहिट फिल्म ‘जारी’ मार्फत अत्यधिक दर्शकको मन जित्न सफल यो चर्चित जोडी अब नयाँ फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मार्फत पुनः पर्दामा देखिन लागेको हो।
विश्राम फिल्म्स प्रा. लि.को निर्माणमा बन्न लागेको उक्त फिल्मको निर्देशन अनिल बुढा मगर ले गर्ने भएका छन्। निर्माण पक्षका अनुसार फिल्म सामाजिक र भावनात्मक कथामा आधारित हुनेछ, जसले मनोरञ्जनसँगै गहिरो सन्देश दिने अपेक्षा गरिएको छ।
‘जारी’ मा देखिएको उनीहरूको दमदार अभिनय, प्राकृतिक प्रस्तुति र उत्कृष्ट केमिस्ट्रीले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। सोही सफलताका कारण यो जोडी नेपाली फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय अन–स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भएको छ।

हालै अभिनेत्री मिरुना मगरले फिल्म ‘ऊनको स्वेटर’ बाट राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन्।
निर्माण पक्षले फिल्मलाई कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा उच्चस्तरीय बनाउने तयारी गरेको जनाएको छ। अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण क्रमशः सार्वजनिक गरिनेछ।
फिल्मको वितरण जिम्मा काफीया फिल्म्स प्रा. लि.का गोविन्द शाहीले लिएका छन्।