काठमाडौंमा ‘क्रिटिक्स फिल्म अवार्ड’ सम्पन्न

0 Shares

काठमाडौं — चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ। शनिबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा भव्य कार्यक्रम आयोजना गर्दै फिक्सनले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ संयुक्त रूपमा प्रदान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि अभिनेता मदनकृष्ण श्रेष्ठ ले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए। उनले राम्रो चलचित्र र योग्य चलचित्रकर्मी तथा प्राविधिकहरूले अवार्ड पाउनु सकारात्मक भएको बताए।

श्रेष्ठले सबै राम्रा चलचित्र हलमा सफल नहुने उल्लेख गर्दै प्रचारको अभावलगायत कारणले कतिपय उत्कृष्ट चलचित्र ओझेलमा पर्ने गरेको धारणा व्यक्त गरे। उनले ‘सानो संसार’ उदाहरण दिँदै त्यसलाई राम्रो चलचित्र भए पनि हलमा सफल हुन नसकेको बताए।

उत्कृष्ट अभिनेता अवार्ड ‘भूठान’बाट प्राप्त गर्दै अभिनेता हरिवंश आचार्य ले समीक्षकबाट प्राप्त अवार्ड विशेष र चुनौतीपूर्ण हुने प्रतिक्रिया दिए।

उनले व्यंग्यात्मक शैलीमा भने, “समीक्षकहरूले दिएको अवार्ड पाउनु नै ठूलो कुरा हो, किनभने उहाँहरूलाई चित्त बुझाउन सजिलो हुँदैन।”

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले अब चलचित्र क्षेत्रलाई सरकारले नजरअन्दाज गर्न नसक्ने बताए। उनले चलचित्रले देशको पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रिय सुटिङ हब बनाउन सकिने धारणा व्यक्त गरे।

फिक्सनका अध्यक्ष सामीप्यराज तिमल्सिनाले राम्रो चलचित्र र राम्रो समीक्षा संस्कृतिले उद्योगलाई सही दिशामा अघि बढाउने बताए। उनले समीक्षा र चलचित्रकर्मीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ का विजेताहरू

  • उत्कृष्ट फिल्म: शाम्बाला
  • उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
  • उत्कृष्ट अभिनेता: दयाहाङ राई (गाउँ आएको बाटो)
  • उत्कृष्ट अभिनेत्री: थिन्ले ल्हामो (शाम्बाला)
  • उत्कृष्ट पटकथा: सरिष्मा खत्री, सिद्धार्थ पुडासैनी (सानो संसार)
  • उत्कृष्ट छायांकन: आलोक शुक्ला (आँखा)
  • उत्कृष्ट सम्पादन: जे. हिम ली, एलेक्स गुर्भिट्स (राजागञ्ज)
  • उत्कृष्ट साउन्ड डिजाइन: किशोर आचार्य (गाउँ आएको बाटो)
  • विशेष उल्लेख (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)
  • विशेष उल्लेख (कला निर्देशन): रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)

‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ का विजेताहरू

  • उत्कृष्ट फिल्म: ऊनको स्वेटर
  • उत्कृष्ट निर्देशक: नवीन चौहान (ऊनको स्वेटर)
  • उत्कृष्ट अभिनेता: हरिवंश आचार्य (भूठान)
  • उत्कृष्ट अभिनेत्री: आना शर्मा (रमिताको पिरती)
  • उत्कृष्ट पटकथा: नवीन चौहान, सुरज कटुवाल (ऊनको स्वेटर)
  • उत्कृष्ट छायांकन: सुशन प्रजापति (भूठान)
  • उत्कृष्ट सम्पादन: अञ्जय खड्का (भूठान)
  • उत्कृष्ट पाश्र्व संगीत: कोविद बज्र (ऊनको स्वेटर)

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व, पर्यटन बोर्डका प्रतिनिधि तथा उद्योग–व्यवसायीहरूको उपस्थिति रहेको थियो।

‘क्रिटिक्स फिल्म अवार्ड’ २०७१ सालदेखि नेपाली चलचित्रको गुणात्मक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको छ।

सम्बन्धित समाचार

सबै