काठमाडौं — रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने नयाँ चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ।
लेखक तथा निर्देशक अमरदीप सापकोटा को लेखन तथा निर्देशन रहने यस चलचित्रको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजासहित गरिएको हो।
निर्माण टिमका अनुसार चलचित्र यही असार महिनाको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ।
यस चलचित्रमार्फत चर्चित गायक पशुपति शर्मा ले अभिनय क्षेत्रमा डेब्यु गर्ने भएका छन्। त्यसैगरी गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही चलचित्रबाट अभिनय यात्रा सुरु गर्ने भएकी छन्।
निर्माण पक्षका अनुसार अन्य केही नयाँ कलाकारहरूले समेत यसै फिल्ममार्फत डेब्यु गर्नेछन्, तर उनीहरूको नाम हाललाई गोप्य राखिएको छ।
कमेडी जनरामा निर्माण हुने यस चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा प्रस्तुत गरिने निर्देशक सापकोटाले बताएका छन्। हाल प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ।
निर्माता रघुनाथ सापकोटाका अनुसार रघुजी फिल्म्सले यसअघि घोषणा गरेका केही परियोजना प्राविधिक कारणले ढिला भए पनि अब ‘तीन तीघ्रे क्या बिग्रे’लाई प्राथमिकतामा राखेर अघि बढाइएको हो।
नेपालमा चलचित्रको वितरण जिम्मा RR Films ले लिएको छ भने डिजिटल अधिकार OSR Digital ले प्राप्त गरेको छ।
विदेशी वितरणका लागि पनि चासो आए पनि निर्माण सम्पन्न भएपछि मात्र अन्तिम निर्णय गरिने निर्माण टिमले जनाएको छ।