काठमाडौं — नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (AVAAN) ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AVAAN Animation Film Festival–AAFF 2026’ आयोजना गर्ने घोषणा गरेको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा महोत्सवको औपचारिक घोषणा गरिएको हो। आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ, जसलाई अंग्रेजीमा ‘My Nepal, Reimagined’ भनिएको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गरेका थिए।
डाँफे चरीबाट प्रेरित उक्त मस्कटलाई नेपाली कलाकारहरूको सिर्जनशीलता, रंगीनता र कल्पनाशीलताको प्रतीकका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा एनिमेटेड लघु चलचित्र प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न एनिमेसन प्रतियोगिता आयोजना गरिनेछ। २ देखि १० मिनेटसम्मका एनिमेसन तथा भि.एफ.एक्स आधारित लघु चलचित्रका लागि आवेदन खुला गरिएको छ, जसमा नेपालसहित विश्वभरका कलाकारहरूले सहभागिता जनाउन सक्नेछन्।
AVAAN ले एनिमेसन तथा भि.एफ.एक्स क्षेत्रमा रोजगारी र दक्ष जनशक्ति जोड्ने उद्देश्यले ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालन गर्ने घोषणा पनि गरेको छ।
त्यसैगरी नेपालमा एनिमेसन विषयको औपचारिक स्नातक तहको अध्ययन कार्यक्रम सुरु गर्ने योजना पनि सार्वजनिक गरिएको छ। यसका लागि एक प्रतिष्ठित विश्वविद्यालयसँग प्रारम्भिक छलफल भइरहेको संघले जनाएको छ।
संघले कलाकार, विद्यार्थी तथा प्राविधिकहरूको सीप विकासका लागि नियमित प्रशिक्षण, कार्यशाला तथा अन्तर्राष्ट्रिय विज्ञसँगको सहकार्यमा विशेष सिकाइ कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय परियोजनामा काम गरिरहेका १२ जना नेपाली एनिमेटर तथा भि.एफ.एक्स कलाकारहरूको भिडियो प्रस्तुति गरिएको थियो, जसले विश्व बजारमा नेपाली प्रतिभाको बढ्दो उपस्थिति देखाएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालका पहिलो एनिमेटर तथा AVAAN का सल्लाहकार करुण थापा, वरिष्ठ २डी एनिमेटर कीर्ति केशर जोशी, कानुनी सल्लाहकार सहदेव खत्री, नेपाल चलचित्र निर्देशक समाजका सुभाष गजुरेल, रोबोटिक्स एसोसिएसन नेपालका ओमकार जैसवाल तथा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुशीला कार्कीसहित सयभन्दा बढी कलाकार, विद्यार्थी तथा चलचित्रकर्मीको सहभागिता रहेको थियो।