काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक भव्य समारोहबीच फिल्मको औपचारिक घोषणा गरिएको हो।
फिल्मको शुभारम्भ मदनकृष्ण श्रेष्ठ र उनका जीवनसाथी कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए। मदनकृष्णको जीवनका सुख–दुःख, संघर्ष, सफलता र उतारचढावलाई समेटेर फिल्म निर्माण गरिनेछ।
फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्। यसअघि उनले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित ‘अञ्जिला’, साथै ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ जस्ता बायोपिक निर्देशन गरिसकेका छन्।
नेपाली अभिनेताको जीवनमा आधारित बायोपिक बन्न लागेको यो पहिलो अवसर हो। यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित ‘आचार्य’ निर्माण भए पनि कुनै नेपाली अभिनेताको बायोपिक बनेको थिएन।
फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा केकी अधिकारीको अभिनय रहनेछ। मदनकृष्णको बाल्यकाल, सरकारी सेवाको यात्रा, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतका जीवनका महत्वपूर्ण घटनालाई फिल्ममा समेटिनेछ।
फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ। यद्यपि, हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने हालसम्म गोप्य राखिएको छ।
कार्यक्रममा धिमे बाजासहित मदनकृष्ण श्रेष्ठको स्वागत गरिएको थियो। माला र खादाले सम्मान गर्दा उनी भावुक बनेका थिए भने हरिवंश आचार्यको छेउमा बसेका उनले आँसु समेत थाम्न सकेनन्।
७६ वर्षीय मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा आधारित फिल्म बन्न लागेकोमा खुसी व्यक्त गर्दै दर्शकले आफ्नो जीवनलाई अझ नजिकबाट बुझ्न पाउने विश्वास व्यक्त गरे। उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गरे।
हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु गर्वको विषय भएको बताउँदै निर्देशक मिलन चाम्सले कथामाथि न्याय गर्ने विश्वास व्यक्त गरे।
‘फिल्मका मुख्य क्याप्टेन निर्देशक नै हुन्। मिलन चाम्स नेपाली फिल्म क्षेत्रमा अत्यन्त आँटिला र ऊर्जाशील निर्देशक हुनुहुन्छ। उहाँले यो गम्भीर र महत्वपूर्ण कथालाई न्याय दिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि बायोपिक निर्माण चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै कलाकारसँगै मेकअप टोलीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्। फिल्मको कथा तथा पटकथा यम थापाले लेखेका छन्। पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक तथा भरत कँडेल साउन्ड डिजाइनर रहेका छन्।
भदौको दोस्रो सातादेखि छायांकन सुरु गरिने फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।