काठमाडौं । आगामी दसैँको अवसरमा असोज ३० गतेदेखि प्रदर्शनमा आउने बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। फिल्मको केही दृश्य छायांकन गर्न बाँकी रहेकै अवस्थामा निर्माण टिम र हङकङका वितरकबीच प्रदर्शन अधिकारसम्बन्धी सम्झौता भएको हो।
फिल्मको हङकङ प्रदर्शन अधिकार श्री स्वर्णिम कम्युनिकेसन प्रालिले खरिद गरेको हो। हङकङ राइट्स बिक्री भएसँगै निर्माण टिम उत्साहित बनेको छ।
निर्देशक चन्द्र पन्तका अनुसार अन्तर्राष्ट्रिय बजारअन्तर्गत हङकङको प्रदर्शन अधिकार उल्लेख्य तथा आकर्षक रकममा बिक्री भएको हो। यद्यपि, व्यापारिक गोपनीयताका कारण सम्झौताको रकम भने सार्वजनिक गरिएको छैन। उनले उचित समयमा त्यसबारे जानकारी गराइने बताए।
‘आ बाट आमा २’ गत वर्ष व्यावसायिक रूपमा सफल बनेको **‘आ बाट आमा’**को सिक्वेल हो। यही कारण पनि प्रदर्शनअघि नै यसको अन्तर्राष्ट्रिय बजारमा उच्च माग देखिएको निर्माण पक्षको भनाइ छ।
यसअघि फिल्मको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको प्रदर्शन अधिकार डोको फिल्म्सले आफ्नो पक्षमा पारिसकेको छ। अमेरिका, क्यानडा, जापान र हङकङजस्ता प्रमुख बजारमा प्रदर्शन अधिकार समयअघि नै बिक्री हुनुले फिल्मप्रति अन्तर्राष्ट्रिय वितरकको चासो बढ्दो रहेको संकेत गरेको छ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडाको मुख्य अभिनय रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।
‘दसैँको जमरा र आमाको पर्खाइको कथा’ भन्ने स्लोगनसहित निर्माण गरिएको फिल्मले वैदेशिक रोजगारी तथा अन्य बाध्यताका कारण आमा र सन्तानबीच सिर्जना हुने दूरी, पारिवारिक संवेदना र प्रतीक्षाको भावनात्मक कथा प्रस्तुत गर्नेछ।
नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको छ।