‘बा : एक योद्धा’मा अनिल बुढाथोकी, दोस्रो फिल्मबाट नयाँ अपेक्षा

0 Shares

काठमाडौं । अभिनेता अनिल बुढाथोकी आगामी फिल्म **‘बा : एक योद्धा’**मा मुख्य भूमिकामध्ये एकमा देखिने भएका छन्। निर्माण टिमले क्रमशः कलाकार सार्वजनिक गर्ने अभियानअन्तर्गत अनिलको नाम औपचारिक रूपमा सार्वजनिक गरेको हो।

अनिलले डेब्यु फिल्म **‘कर्मा’**मार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ प्रस्तुत गरेका थिए। विपिन कार्कीपछि दोस्रो मुख्य भूमिकामा देखिएका उनले पहिलो फिल्मबाट प्रशंसा बटुले पनि फिल्मले अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसक्दा धेरै दर्शकले उनको अभिनय हेर्न पाएनन्।

‘बा : एक योद्धा’ अनिलको दोस्रो फिल्म हो। नयाँ फिल्मलाई लिएर उनी उत्साहित छन्।

“पहिलो फिल्मबाट दर्शकको माया पाएको थिएँ। यो फिल्मबाट पनि त्यस्तै माया पाउने अपेक्षा गरेको छु। पहिलो फिल्मका कमजोरी सुधार गर्दै यसमा अझ राम्रो गर्ने प्रयास गरेको छु,” अनिलले भने।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीहरूको भावनात्मक कथा प्रस्तुत गर्नेछ।

फिल्ममा अनिल बुढाथोकीसँगै दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्माशवि थापाको मुख्य अभिनय रहेको छ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत सिर्जना गरेका संगीतकार, गीतकार तथा गायक हरि लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्साल स्वयंले लेखेका हुन्।

फिल्मका निर्माता वसन्त लम्साल हुन्। उनले यसअघि अभिनेता विपिन कार्की अभिनित फिल्म ‘कर्मा’ निर्माण गरेका थिए।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। फिल्मको वितरण कुवेर सिने डिस्ट्रिब्युसनमार्फत आशिष एच तामाङप्रदीप धामीले गर्नेछन्।

सम्बन्धित समाचार

सबै