प्रदीपकुमार चौधरीको डेब्यु निर्देशन ‘तरंग’ मंसिर १८ मा प्रदर्शन हुने

0 Shares

काठमाडौं । दुई दशकदेखि रंगमञ्चमा लेखन, निर्देशन र अभिनयमा सक्रिय कलाकार **प्रदीपकुमार चौधरी ‘पिके डन’**को डेब्यु निर्देशकीय फिल्म ‘तरंग’ आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

देवदत्त क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई श्रीराम बालाजी फिल्म्सका लागि सुनिल मानन्धरले वितरण गर्नेछन्।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार वरुण अधिकारी, रविना केसी, बारात लिम्बुकृष्ण थापालाई फिचर गरिएको छ। फिल्ममा सारा राई, उज्ज्वल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग तथा बाल कलाकार प्रन्शु चौधरीको पनि मुख्य अभिनय रहेको छ।

फिल्मका निर्माता तर्कराज जोशीजितेन्द्रकुमार चौधरी हुन् भने हरिनारायण चौधरी कार्यकारी निर्माता रहेका छन्।

महेश पौडेलको छायांकन रहेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन तथा मनोज थापामगर, पवन गिरीमनोज महतोको संगीत रहेको छ। फिल्मका गीतमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतोमनोज थापामगरले स्वर दिएका छन्। पाश्र्व संगीत मनिष निरौलाले तयार गरेका छन्।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मलाई निर्देशक चौधरीले ‘सुपरनेचुरल लभ स्टोरी’ अर्थात् अलौकिक प्रेमकथाको रूपमा चित्रण गरेका छन्। समाजमा देखिने परम्परागत प्रेमकथाभन्दा फरक विषयवस्तुमा फिल्म निर्माण गरिएको उनको भनाइ छ।

फिल्मको निर्माणमा देवदत्त क्रियशनसँग एभी फिल्मीले सहकार्य गरेको छ।

सम्बन्धित समाचार

सबै