
‘जुना’ सिनेमाले माघ २५ लाई आफ्नो रिलिज मिति तोकेको छ ।
सिनेमा बाल विवाह तथा महिला हिंसा विरुद्ध निर्माण भएको सिनेमा हो।
गोदावरी सिनेमा प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको सिनेमालाई जीवन सेञ्चुरीले निर्देशन गरेका हुन्।
सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ ।
निर्देशक सेञ्चुरीले सिनेमाले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।
‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस सिनेमाको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने ।
उनले सिनेमाले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमाका निर्माता दीपकप्रसाद घिमिरे हुन् ।
सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।
यो सिनेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन् ।