काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले प्रचार अभियानको सुरुआत गर्दै सार्वजनिक गरेको पोस्टरले फिल्मको भावनात्मक कथा र मुख्य पात्रको मनोदशालाई संकेत गरेको छ।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्का एक्लै ढुङ्गे चौतारोमा रुखमुनि गम्भीर मुद्रामा बसेकी देखिन्छिन्। उनको अनुहारको भाव, शारीरिक हाउभाउ र वरिपरिको उजाड वातावरणले गहिरो पीडा, विरह, संघर्ष तथा मानसिक द्वन्द्वलाई चित्रण गरेको देखिन्छ। पृष्ठभूमिमा देखिएका पात झरेका नाङ्गा रुखहरूले जीवनको शून्यता र पात्रको आन्तरिक पीडालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्। पोस्टरमार्फत निर्माण पक्षले फिल्मको कथावस्तुबारे प्रारम्भिक संकेत दिएको छ।
न्यान्सी यसअघि ‘१२ गाउँ’मार्फत दर्शकमाझ लोकप्रिय बनेकी थिइन् भने उनी अनमोल केसी अभिनीत आगामी फिल्म ‘बाटुलो जुन’मा पनि देखिँदैछिन्। अमेरिकाको क्यालिफोर्नियामा सञ्चार अध्ययन गरेकी न्यान्सी सन् २०१६ देखि २०२० सम्म मोडलिङ क्षेत्रमा सक्रिय थिइन्। ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता उनी जापानमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गरिसकेकी छन्।
विनय राज पौडेलको निर्देशनमा बनेको फिल्ममा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योति न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदीप धुलुङ, बिश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेल मुख्य भूमिकामा छन्। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले अभिनय गरेका छन्।
सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको फिल्मको पटकथा तथा संवाद निर्देशक पौडेलले लेखक अभिमन्यु निरवीसँग मिलेर तयार गरेका हुन्। क्षितज बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन्। फिल्मको कथा उग्रसेन स्वयंले लेखेका हुन् भने सुरज थापा काजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाका गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा दिपेन बस्न्यातको छायांकन रहेको छ। गौतम राज खड्काले सम्पादन गरेको फिल्ममा रेनिस फागो कलरिस्टका रूपमा आबद्ध छन्। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने फिल्मलाई नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले देशभर वितरण गर्नेछन्।
