काठमाडौं । फिल्म निर्माता अविरल थापाले आफ्नो आगामी प्रेमकथामा आधारित फिल्मका लागि नयाँ अभिनेत्रीको खोजी सुरु गरेका छन्। ‘बुलबुल’ र **‘भूठान’**का निर्माता थापाले आफ्नो निर्माण कम्पनीको आधिकारिक पेजमार्फत आवेदन आह्वान गर्दै इच्छुक युवतीलाई फारम भर्न अनुरोध गरेका हुन्।
थापाले सार्वजनिक गरेको सूचनाअनुसार २२ देखि २७ वर्ष उमेर समूहका इच्छुक अभिनेत्रीहरूले आवेदन दिन सक्नेछन्। पोस्टमा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरेर वा वेबसाइटमार्फत फारम भर्न सकिने व्यवस्था गरिएको छ। आवेदनका क्रममा विभिन्न आकारका तस्बिर, आफ्नो अभिनय प्रस्तुत गर्ने करिब एक मिनेटको भिडियो तथा बायोडाटा अपलोड गर्नुपर्नेछ।
निर्माता थापाले यसअघि निर्माण गरेको **‘बुलबुल’**बाट अभिनेत्री स्वस्तिमा खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा र पुरस्कार हासिल गरेकी थिइन्। त्यस्तै, हालै प्रदर्शनमा आएको **‘भूठान’**मार्फत वरिष्ठ कलाकार हरिवंश आचार्यले समीक्षक संस्थाबाट उत्कृष्ट अभिनेताको सम्मान प्राप्त गरेका थिए।
थापाको नयाँ फिल्मको निर्देशन रामराजा दाहालले गर्नेछन्। अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपलसमेत रहेका दाहालले यसअघि ‘बसमा छैन मेरो मन’, ‘कसम हजुरको’, ‘गुरु दक्षिणा’ र **‘नेपथ्य’**लगायत फिल्म निर्देशन गरेका थिए। उनी करिब १२ वर्षपछि पुनः निर्देशनमा फर्किन लागेका हुन्।
निर्माता थापाका अनुसार निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्म नेपाली फिल्म उद्योगमा अहिलेसम्म नदेखिएको शैलीमा प्रस्तुत हुनेछ। उनले मुख्य भूमिकाका लागि उत्कृष्ट अभिनय क्षमता र ‘स्टार’ व्यक्तित्व झल्किने नयाँ अनुहार खोजिएको बताए।
उनका अनुसार आवेदन दिने अन्तिम मिति जुलाई १६ (असार मसान्त) तोकिएको छ। प्रारम्भिक छनोटमा परेका आवेदकहरूको साउनभित्र अडिसन गरिनेछ र त्यसपछि वर्कसप सञ्चालन हुनेछ। फिल्मको छायांकन दशैंलगत्तै सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
थापाले चयन हुने अभिनेत्री नेपाली फिल्म उद्योगको भावी ‘सुपरस्टार’ बन्न सक्ने विश्वास पनि व्यक्त गरेका छन्।