काठमाडौं: आगामी भदौ १२ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकका लागि आकर्षक नगद पुरस्कारसहितको प्रतियोगिता घोषणा गरेको छ।
नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्मको निर्माण टिमका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक टिकटक भिडियो बनाएर आफ्नो टिकटक खातामा पोस्ट गर्नुपर्नेछ। उत्कृष्ट तीन भिडियोलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ। साथै, पाँच जना सहभागीलाई फिल्मको निःशुल्क टिकट पनि उपलब्ध गराइने जनाइएको छ।
प्रतियोगितामा सहभागी हुँदा भिडियोको क्याप्सनमा #Parbati, #Bhadra12, र#NautunaRelaima ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। विजेताको छनोट भिडियोको सिर्जनात्मकता र प्राप्त भ्युजका आधारमा गरिने निर्माण टिमले जनाएको छ।
हालै सार्वजनिक गरिएको ‘नौतुना रेलैमा’ गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहका अवसरमा महिलाहरूले खेल्ने रत्यौलीलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता परम्परागत महिलाको पहिरनमा प्रस्तुत भएकी छन्। दुवै कलाकारबीचको रमाइलो प्रस्तुतिले गीतलाई थप आकर्षक बनाएको छ।
अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा तथा पटकथा नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल डीओपी, रामजी लामिछाने नृत्य निर्देशक, शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता र हरिहर अधिकारी निर्माता रहेका छन्।
फिल्मको सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार पारिरहेका छन् भने पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
नेपाली सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘पार्वती’ आगामी भदौ १२ गते देशभर प्रदर्शनमा आउनेछ।