काठमाडौं: सुपरहिट फिल्म **‘खुस्मा’**का निर्देशक अशोक थापा मगर निर्देशित नयाँ नेपाली फिल्म ‘जलाकी’ले दुई आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने घोषणा गरेको छ। असार १५ को अवसरमा सार्वजनिक गरिएका पोस्टरले फिल्मप्रति दर्शकमाझ उत्सुकता थप बढाएको छ।
सार्वजनिक दुई पोस्टरले फिल्मका मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावनात्मक अवस्थाहरूमा प्रस्तुत गरेका छन्। एउटा पोस्टरमा प्रेम, आत्मीयता र विश्वासको उज्यालो पक्ष चित्रित गरिएको छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक द्वन्द्वलाई उजागर गर्छ। पोस्टरहरूले ‘जलाकी’ केवल प्रेमकथामा सीमित नभई सम्बन्ध, संवेदना र जीवनका अनेक आयाम समेटिएको फिल्म भएको संकेत दिएका छन्।
पहिलो पोस्टरमा सोनाम र उपासना एकअर्काको अंकमालमा बाँधिएर प्रेमको मधुर क्षणमा रमाइरहेका देखिन्छन्। उनीहरूको मुस्कान, आत्मीय स्पर्श र विश्वासले प्रेमको कोमल पक्षलाई अभिव्यक्त गरेको छ। विपरीत, दोस्रो पोस्टरमा उपासनाले सोनामको काँधमा टाउको राखेकी छन् भने सोनाम गम्भीर मुद्रामा टाढातर्फ हेरिरहेका छन्। दुवैको मौन अभिव्यक्तिले सम्बन्धभित्रको दूरी, पीडा र भावनात्मक संघर्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
निर्माण टिमका अनुसार पोस्टरले फिल्मको दृश्य सौन्दर्यसँगै कथाको भावनात्मक गहिराइलाई पनि संकेत गर्छ। पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फिल्मप्रति सकारात्मक प्रतिक्रिया आउन थालेको निर्माण पक्षले जनाएको छ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना, माया र पहिचानको प्रतीक मानिने ढुङ्गाबाट बनाइने स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरका अनुसार फिल्मले यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ। यसकारण फिल्म प्रेमकथासँगै सांस्कृतिक पहिचान र मानवीय सम्बन्धको कथा पनि बन्ने अपेक्षा गरिएको छ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सोनाम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर बालकलाकारका रूपमा प्रस्तुत भएका छन्। यसै फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यू गरेकी छन्।
फिल्मका निर्माता ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन्। शैलेन्द्र डी. कार्कीले छायांकन गरेको फिल्ममा एसडी योगी र सरित राईको संगीत रहेको छ भने सुरेन्द्र राना र राम अविरल विष्टका गीत समावेश छन्। गीतमा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरको स्वर सुन्न सकिनेछ।
निर्देशक अशोक थापा मगरको पहिलो फिल्म ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। उक्त फिल्मको ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा अत्यधिक लोकप्रिय बनेको थियो। सोही सफलतालाई निरन्तरता दिने विश्वासका साथ निर्देशक मगरले ‘जलाकी’ पनि दर्शकको मन जित्ने अपेक्षा व्यक्त गरेका छन्।
गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्ने ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउनेछ। निर्माण टिमले अब गीत, टिजर र ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रचारप्रसारलाई थप तीव्र बनाउने तयारी गरेको जनाएको छ।
