काठमाडौं । निर्देशक बलिराम चौहानको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता तथा गायक रियान गिरी मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
निर्माण टिमले सोमबार राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर रियानको औपचारिक अनुबन्धको घोषणा गरेको हो।
फिल्म ‘होस्टेल–३’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेका रियान गिरी अभिनयसँगै गायनमा पनि सक्रिय छन्। उनले विभिन्न गीतमा स्वर दिएका छन्।
निर्देशक बलिराम चौहानका अनुसार रियानलाई कथाको पात्रसँग उपयुक्त ठानेर मुख्य भूमिकाका लागि छनोट गरिएको हो। “रियान हाम्रो कथाको चरित्रसँग राम्रोसँग मेल खाने कलाकार भएकाले हामीले उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेका हौँ,” उनले भने।
गत वर्ष समीक्षात्मक रूपमा प्रशंसित फिल्म ‘द ब्ल्यू लाइट’ बाट निर्देशनमा डेब्यु गरेका चौहान अहिले ‘ल्याङ्ग ल्याङ्ग’ को निर्माण तयारीमा छन्। यसअघि उनले थिम पोस्टरसहित फिल्मको शीर्षक सार्वजनिक गर्दै निर्माण घोषणा गरेका थिए। हाल कलाकार र प्राविधिक चयनको काम भइरहेको निर्देशक चौहानले जानकारी दिए। उनका अनुसार अन्य कलाकारसँग पनि छलफल जारी छ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्ने ‘ल्याङ्ग ल्याङ्ग’ को स्लोगन ‘हरेक युवाको कथा’ रहेको छ। फिल्मले युवा पुस्ताको जीवन, सम्बन्ध र मनोविज्ञानलाई केन्द्रमा राख्ने निर्माण टिमको भनाइ छ। युवा पुस्तामाझ प्रचलित ‘ल्याङ्ग ल्याङ्ग’ शब्दले सामान्यतया किचकिच, एउटै विषयमा बारम्बार दबाब दिने वा तनाव सिर्जना गर्ने अवस्थालाई जनाउँछ।
‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने सन्देशसहित सार्वजनिक गरिएको थिम पोस्टरले प्रेममा धोका पाएको एक युवाको भावनात्मक यात्रालाई फिल्मले प्रस्तुत गर्ने संकेत दिएको छ।
फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।
चौहान निर्देशित पहिलो फिल्म ‘द ब्ल्यू लाइट’ ले सकारात्मक समीक्षा पाए पनि निर्वाचनको माहोलका कारण प्रदर्शनको तेस्रो दिनमै हलबाट उतारिएको थियो।