काठमाडौं । आगामी असोज २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रु नेपाल प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मले पहिलो गीतमार्फत आमाको माया, त्याग र वृद्धाश्रममा पुग्न बाध्य भएका आमाबुबाको पीडादायी यथार्थलाई भावुक ढंगले प्रस्तुत गरेको छ।
सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतका मार्मिक शब्दले आमाको महिमासँगै समाजमा बढ्दो पारिवारिक विखण्डन र वृद्धाश्रमको यथार्थलाई उजागर गर्छ। निर्माण टिमका अनुसार यो गीतले फिल्मको मूल कथावस्तुको भावसमेत बोकेको छ।
गीतको भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष भूमिकामा देखिएका छन्। साथै आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंहलाई पनि भिडियोमा समावेश गरिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ। फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन रहेको छ।
गीतको छायांकन र दृश्य संयोजनमा निर्माण टिमले विशेष मेहनत गरेको देखिन्छ। कोरियोग्राफर रामजी लामिछानेले गीतको भावनालाई प्रभावशाली रूपमा दृश्यमा उतारेका छन्।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन तथा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ।
यसअघि पोस्टर सार्वजनिक गरेर प्रचार अभियान सुरु गरेको निर्माण टिमले अब पहिलो गीत सार्वजनिक गर्दै प्रचारलाई थप तीव्र बनाएको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसैको सिक्वेलका रूपमा निर्माण भएको ‘झिंगे दाउ २’ ले पनि प्रदर्शनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउने निर्माण टिमको विश्वास छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ।