असार १५ मा ‘हली’ टिमको रोपाइँ, किसानको कथालाई खेतमै दिए सम्मान

0 Shares

काठमाडौं । आगामी साउन २२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को निर्माण टिमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा ललितपुरको सुनाकोठीमा सामूहिक रोपाइँ गर्दै किसानप्रति सम्मान व्यक्त गरेको छ।

सोमबार आयोजित रोपाइँ कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठलगायत निर्माण टिमका सदस्यहरूले खेतमा धान रोपे।

निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार फिल्मको कथा किसान र ‘हली’को जीवनसँग प्रत्यक्ष रूपमा जोडिएकाले असार १५ को अवसरमा सम्पूर्ण टिम रोपाइँमा सहभागी भएको हो। उनीहरूले असार १५ ले मेहनत, उत्पादन र किसानको संघर्षको सम्झना दिलाउने बताए। कलाकारहरूले पनि उत्साहपूर्वक रोपाइँमा सहभागी हुँदै किसानसँग ऐक्यबद्धता जनाएका थिए।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमको दाबी छ। समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एउटा ‘हली’को भूमिकासमेत निर्णायक हुन सक्छ भन्ने सन्देश फिल्मले दिने बताइएको छ।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ। फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।

फिल्मका गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष उपस्थितिसमेत रहनेछ। कविराज गहतराजले एक गीतको कोरियोग्राफी गरेका छन् भने अन्य गीतमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्मचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत समावेश छ। जश्मिन श्रेष्ठका शब्द रहेका गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न पाइनेछ। कुमार महर्जनले द्वन्द्व निर्देशन गरेको फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले नेपालभर वितरण गर्नेछ भने ओएसआर डिजिटल यसको डिजिटल पार्टनर रहेको छ।

सम्बन्धित समाचार

सबै