काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आगामी वैशाखमा आयोजना हुने भएको छ।
सेलिब्रेटी नेपालको आयोजनामा हुने यस महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनका साथै नेपाली फिल्मलाई ग्रामीण बजारसम्म पुर्याउने रहेको छ। महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार यसपटक पनि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्राथमिकता दिइनेछ।
अध्यक्ष सापकोटाले महोत्सवका लागि चलचित्र दर्ता खुला गरिएको जानकारी दिए। महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म, फिचर फिल्म, र भाषाभाषी चलचित्र समावेश गरिनेछ। ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने यस महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी चलचित्रहरूलाई प्राथमिकता दिइनेछ।
जुरी टिमद्वारा छनोट गरिएका चलचित्र अत्याधुनिक प्रविधिको प्रयोग गरी प्रदर्शन गरिनेछ। उत्कृष्ट चलचित्रलाई विशेष अवार्ड प्रदान गरिने व्यवस्था रहेको छ।
नेपाल ग्रामीण चलचित्र महोत्सव विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको छ। गोरखाको लाप्राकमा पहिलो पटक आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रेको भकुण्डेबेसीमा र तेस्रो पटक रामेछापमा सम्पन्न भएको थियो।
फिल्म प्रदर्शनसँगै महोत्सवमा ग्रामीण परिवेशलाई समेटेर फिल्म निर्माण सम्बन्धी अन्तरक्रिया र कार्यशाला गोष्ठीहरू आयोजना गरिनेछ। यसले ग्रामीण कथामा आधारित चलचित्रहरूलाई विश्वव्यापी बनाउने, स्थानीय भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
सापकोटाका अनुसार चलचित्र विकास बोर्डले यस महोत्सवमा सहकार्य गरेको छ। ग्रामीण कथावस्तुमा बनेका चलचित्रलाई प्रोत्साहन गर्दै दर्शकलाई मौलिक नेपाली फिल्मप्रति आकर्षित गराउने उद्देश्य महोत्सवको प्रमुख लक्ष्य हो।