‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री, दशैँमा विश्वव्यापी प्रदर्शनको तयारी

0 Shares

जापान र अमेरिकापछि ‘आ बाट आमा २’ को मध्यपूर्व वितरण अधिकार पनि बिक्री

काठमाडौं। निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ। जापान, अमेरिका र क्यानडापछि अब फिल्मको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार पनि बिक्री भएको निर्माण पक्षले जनाएको छ।

निर्माण कम्पनीका अनुसार आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टबीच वितरण अधिकारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यससँगै फिल्मको मध्यपूर्व प्रदर्शन अधिकार औपचारिक रूपमा बिक्री भएको छ।

यसअघि फिल्मको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्ट ले तथा अमेरिका र क्यानडाको वितरण अधिकार डोको फिल्म्स ले खरिद गरिसकेका छन्। निर्माण पक्षका अनुसार दुवै सम्झौता आकर्षक रकममा भएका हुन्।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ।

वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको भावनात्मक कथा प्रस्तुत गरिएको फिल्मले पारिवारिक सम्बन्ध, मातृत्व र बिछोडको संवेदनशील पक्षलाई उठाएको छ। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्’ भन्ने संवादले फिल्मप्रति दर्शकमाझ थप उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ।

निर्देशक चन्द्र पन्तकै कथा, लेखन र पटकथा रहेको फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।

‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भन्ने नारासहित निर्माण गरिएको ‘आ बाट आमा २’ आगामी असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। नेपालमा फिल्मको वितरण आरआर फिल्म्स ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले प्राप्त गरेको छ।

चन्द्र पन्तकै निर्देशन र निर्माणमा बनेको पहिलो फिल्म ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। उक्त फिल्मलाई चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको सर्वाधिक कमाइ गर्ने नेपाली फिल्महरूको सूचीमा समेत समावेश गरेको थियो।

सम्बन्धित समाचार

सबै