साउन २२ देखि प्रदर्शनमा आउने ‘हली’को प्रचार अभियान तीव्र, कलाकार कलेज–कलेजमा
काठमाडौं। आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को निर्माण टिम प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ। असार १५ गतेदेखि सुरु भएको प्रचार अभियानअन्तर्गत कलाकार र निर्माण टोली काठमाडौंका विभिन्न विद्यालय तथा कलेजमा पुगेर दर्शकमाझ फिल्मबारे जानकारी गराइरहेका छन्।
प्रचार अभियानमा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजाता थापा, अभिनेत्री विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ सक्रिय रूपमा सहभागी छन्। निर्माण टिमले विशेषगरी युवा दर्शकसँग प्रत्यक्ष संवाद गर्दै फिल्मप्रति उत्साह जगाउने प्रयास गरिरहेको जनाएको छ।
किसानको जीवन र संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म भएकाले यसको सन्देश व्यापक दर्शकमाझ पुर्याउने उद्देश्यले प्रचार अभियानलाई देशव्यापी बनाइएको निर्माण पक्षको भनाइ छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको ‘हली’ ले समाज परिवर्तनका लागि एउटा ‘हली’ पनि पर्याप्त हुन सक्छ भन्ने सशक्त सन्देश बोकेको छ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा व्यवसायी पूजा गुरुङ र जस्मिन श्रेष्ठले लगानी गरेका छन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।
फिल्मको विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष उपस्थिती रहेको छ। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने अन्य गीतमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। छायांकन राहुल राईले गरेका छन् भने सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।
वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको फिल्मका गीतमा निर्मात्री जस्मिन श्रेष्ठको पनि शब्द सिर्जना रहेको छ। बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतमा चर्चित गायिका शान्तिश्री परियारले पनि स्वर दिएकी छन्।
कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको ‘हली’ लाई नेपालमा नेसनल सिने ग्रुप प्रालि ले वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।