काठमाडौं। आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’ प्रदर्शनअघि नै आफ्नो फरक प्रचार शैली र संवेदनशील कथावस्तुका कारण चर्चाको केन्द्रमा पुगेको छ। अटिजमजस्तो कम उठान हुने विषयलाई मुख्य कथाका रूपमा प्रस्तुत गरेको फिल्मले दर्शकमाझ उत्सुकता बढाइरहेको छ भने निर्माण टिमको सिर्जनात्मक प्रचार अभियानले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
फिल्मको प्रचारका क्रममा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का ले आफ्नो पात्रकै स्वरूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुने रणनीति अपनाएका छन्। गीत सार्वजनिक कार्यक्रममा उनीहरू फिल्मकै बेहुला–बेहुलीको पहिरनमा उपस्थित भएका थिए। त्यसपछि एक टेलिभिजन अन्तर्वार्तामा पनि उनीहरू त्यही पात्रमै प्रस्तुत भए।
अन्तर्वार्ताका क्रममा सिम्रनले आफ्नो पात्रको कथाअनुसार १५ वर्षकै उमेरमा अटिजम भएका युवासँग विवाह भएको अनुभव सुनाइन् भने अरुणले फिल्ममा निर्वाह गरेको अटिजम भएका पात्रकै व्यवहार र शैलीमा संवाद गरेका थिए। सुरुमा धेरै दर्शकले उनीहरू वास्तविक पात्र भएको ठानेका थिए। यही फरक शैलीले फिल्मको प्रचारलाई थप प्रभावकारी बनाएको निर्माण पक्षको विश्वास छ।
निर्देशक डा. कपिल रिजाल र चलचित्रकर्मी प्रकाश सुवेदी को परिकल्पनामा तयार गरिएको यो प्रचार अभियानले सामाजिक सञ्जालदेखि दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ।
यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका डा. कपिल रिजालले दोस्रो निर्देशनमा अटिजमजस्तो संवेदनशील विषय रोजेका छन्। दर्शकले विषयवस्तु र प्रस्तुतिलाई सकारात्मक रूपमा ग्रहण गरिरहेको निर्माण पक्षको दाबी छ।
पेसाले दन्त चिकित्सक रहेका डा. रिजाल लामो समय बेलायतमा कार्यरत थिए। चिकित्सा क्षेत्रसँगै कलाप्रतिको रुचिले उनलाई फिल्म निर्देशनतर्फ आकर्षित गरेको हो। उनी वरिष्ठ चिकित्सक, गीतकार तथा चलचित्रकर्मी डा. भोला रिजाल का छोरा हुन्।
फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली को अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली पनि देखिनेछन्।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा छन्।
फिल्ममा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटी को संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्की ले तयार गरेका छन्। छायांकन हरि हुमागाईं, सम्पादन मिलन श्रेष्ठ, ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमाली ले गरेका छन्।
रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनी ले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।
उल्लेखनीय रूपमा, ‘गौँथली’ नाममै डा. भोला रिजालले करिब दुई दशकअघि निर्माण गरेको फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ, जसले प्रदर्शनको ५१ दिन पूरा गरेको थियो। अहिले सोही नामलाई नयाँ पुस्ताको दृष्टिकोण र फरक कथावस्तुसहित निर्देशक डा. कपिल रिजालले पुनः दर्शकमाझ ल्याउन लागेका हुन्।