दयाहाङ–मिरुनाको ‘रातो घेरा – द रेड सर्कल’ शुभमुहूर्त, मंसिर १८ मा प्रदर्शन हुने

0 Shares

काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रातो घेरा – द रेड सर्कल’ को बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको पटकथा पूजा गर्दै औपचारिक रूपमा निर्माण शुभारम्भ गरिएको हो।

विश्राम फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहनेछन्। करिब दुई दर्जन कलाकारको अभिनय रहने फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण टिमले जनाएको छ। फिल्म आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ।

निर्देशक अनिल बुढा मगरका अनुसार फिल्मले सामाजिक तथा भावनात्मक विषयवस्तु प्रस्तुत गर्नेछ। सत्य घटनाबाट प्रेरित कथामा आधारित फिल्मलाई कथात्मक रूपमा सशक्त, प्राविधिक रूपमा उच्चस्तरीय र दर्शकमाझ प्रभावशाली बनाउने लक्ष्य राखिएको उनले बताए।

निर्माता जीवन गुरुङले अनुभवी कलाकार र दक्ष प्राविधिक टोलीको सहकार्यले फिल्मलाई थप गुणस्तरीय बनाउने विश्वास व्यक्त गरे।

फिल्मका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन्। सह–निर्मातामा सुमन गुरुङ र खेम राना छन्। संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्।

फिल्मको काठमाडौं उपत्यकाभित्रको वितरण अधिकार काफीया फिल्म्सका गोविन्द शाहीले लिएका छन् भने उपत्यका बाहिरको वितरण कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछ। फिल्मका लेखक राजु स्याङ्तान हुन्। छायांकन शिशिर बिसंखेले गर्नेछन् भने निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन्।

फिल्ममा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्गबहादुर पुन (खबपु), सुस्मिता कुँवर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बलबहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाई, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ र डिबी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ।

शुभमुहूर्त कार्यक्रममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले सत्य घटनामा आधारित फिल्ममा काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिए। निर्माण टिमले दर्शकले दयाहाङ–मिरुनाको जोडीबाट उत्कृष्ट अभिनयसँगै नयाँ सिनेम्याटिक अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै