काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म **‘गौँथली’**को ट्रेलर सार्वजनिक गरिएको छ। तीन मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षा, विवाह, अटिजम, लैंगिक विभेद र परम्परागत सोचबीच संघर्ष गरिरहेकी एक युवतीको भावनात्मक यात्रा प्रस्तुत गरेको छ।
ट्रेलरले मुख्य पात्र सिम्रन खड्काको शिक्षा हासिल गर्ने सपना र त्यसका लागि उनले घर–परिवार तथा समाजबाट भोग्नुपरेका अवरोधलाई केन्द्रमा राखेको छ। विवाह गर्न नचाहेकी एक युवतीले परिवारको आग्रह र सामाजिक प्रतिष्ठाका लागि गरेको सम्झौतापछि उनको जीवनमा आउने अप्रत्याशित मोडलाई ट्रेलरले मार्मिक रूपमा चित्रण गरेको छ।
फिल्ममा अटिजमबाट प्रभावित युवकको भूमिकामा रहेका अरुण क्षेत्रीका असामान्य व्यवहार र त्यसलाई स्वीकार्दै अघि बढ्न खोज्ने नवविवाहित दुलहीको संघर्षलाई पनि ट्रेलरमा संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।
महिलाले महिलालाई नै साथ नदिँदाको असर, पुरातन सोचसँगको द्वन्द्व, शिक्षाप्रतिको दृढ इच्छाशक्ति र फरक क्षमता भएका व्यक्तिप्रति समाजको दृष्टिकोणजस्ता विषयलाई ट्रेलरले भावनात्मक रूपमा उठाएको छ।
कथावस्तु, कलाकारहरूको अभिनय र ग्रामीण परिवेशको प्रस्तुतिले ट्रेलरलाई थप प्रभावशाली बनाएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
फिल्मको कथा डा. भोला रिजालको हो भने पटकथा तथा संवादमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता हुन्।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा एलिस कार्कीको पाश्र्व संगीत छ। हरि हुमागाईंले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
विशेष रूपमा, ‘गौँथली’ शीर्षकमै डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको फिल्मलाई नेपालको पहिलो गीति फिल्म (म्युजिकल फिल्म) मानिन्छ। ५१ दिनसम्म प्रदर्शन भएको उक्त फिल्मपछि अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका लागि नयाँ कथा लिएर ‘गौँथली’ निर्देशन गरेका हुन्।
फिल्म साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। यसको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।