‘ब्लकबस्टर’को दाबी अनि ‘आइ एम जितबहादुर’का कारण प्रियंकाको ‘मास्टर्नी’ छ यस्तो दबाबमा !

0 Shares

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको कथा तथा निर्माणमा बनेको आगामी फिल्म ‘मास्टर्नी’ अहिले प्रदर्शनअघि नै चर्चाको केन्द्रमा छ। नयाँ पोस्टर र रिलिज मितिसँगै प्रचारलाई तीव्र बनाइरहेको फिल्ममाथि अहिले सबैभन्दा ठूलो प्रश्न भने यसको निर्देशनलाई लिएर उठ्न थालेको छ।

‘मास्टर्नी’ निर्देशक सुभेन्दु घोष यसअघि जितु नेपाल अभिनीत तथा निर्मित ‘आई एम जीतबहादुर’ का निर्देशक हुन्। उक्त फिल्म बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेन। प्रदर्शनपछि दर्शक र समीक्षकबाट निर्देशन तथा प्रस्तुतिमाथि मिश्रितदेखि नकारात्मक प्रतिक्रिया आएका थिए।

फिल्मको प्रचारका क्रममा तथा त्यसपछिका विभिन्न अन्तर्वार्तामा अभिनेता तथा निर्माता जितु नेपालले पनि निर्देशकमाथि अत्यधिक भरोसा गर्दा आफूले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको आशय व्यक्त गरेका थिए। त्यसैले ‘मास्टर्नी’मा घोषको पुनः निर्देशनलाई लिएर फिल्मवृत्तमा स्वाभाविक रूपमा चासो बढेको देखिन्छ।

यो फिल्ममा नेपालमा महिन्द्राका स्कर्पियोलगायत सवारीसाधनको आधिकारिक बिक्री–वितरण गर्दै आएको अग्नि समूहका प्रमुख क्याबिनेट श्रेष्ठ पनि निर्माताका रूपमा जोडिएका छन्। अग्नि समूहको फिल्म निर्माणमा यो पहिलो लगानीसमेत हो।

रोचक कुरा के छ भने ‘मास्टर्नी’को फर्स्ट लुक सार्वजनिक गर्दा निर्माण पक्षले प्रचार सामग्रीमै यसलाई ‘सन् २०२६ कै ब्लकबस्टर’ हुने दाबी गरेको थियो। प्रदर्शनअघि गरिएको यस्तो आत्मविश्वासी दाबीले फिल्मप्रति अपेक्षा झन् बढाएको छ।

फिल्म निकट स्रोतका अनुसार निर्माण टिमले ‘मास्टर्नी’लाई सकेसम्म प्रभावशाली बनाउन पोस्ट–प्रोडक्सनमा विशेष ध्यान दिएको छ। सम्पादनमा लामो समय खर्चिएको, केही दृश्य पुनः छायांकन (रिसुट) गरिएको र कथाको प्रस्तुति थप सशक्त बनाउन अन्तिम चरणसम्म काम गरिएको बताइन्छ।

यद्यपि निर्माण पक्षले यी विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

अब प्रदर्शनका लागि करिब पाँच सातामात्र बाँकी रहेकाले ‘मास्टर्नी’ले आफ्नो ‘ब्लकबस्टर’ दाबीलाई दर्शकमाझ कसरी स्थापित गर्छ भन्ने चासो बढेको छ। विशेषगरी प्रचार रणनीति, ट्रेलर र मुख–मुखे प्रतिक्रियाले फिल्मको बक्स अफिस यात्रामा निर्णायक भूमिका खेल्ने फिल्मवृत्तको विश्लेषण छ।

अब ‘मास्टर्नी’ले अघिल्लो फिल्मको आलोचनालाई पछि पार्दै नयाँ सफलता लेख्छ कि ‘आई एम जीतबहादुर’कै नियति दोहोर्याउँछ भन्ने प्रश्नको उत्तर भने प्रदर्शनपछि मात्र स्पष्ट हुनेछ।

सम्बन्धित समाचार

सबै