काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘बाः एक योद्धा’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरहरूले एक सुखी परिवारको जीवनमा आउने अप्रत्याशित घटनाको संकेत गर्दै फिल्मप्रतिको उत्सुकता बढाएका छन्।
पहिलो पोस्टरमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मालाई पारिवारिक तस्बिर खिचाइरहेको दृश्यमा प्रस्तुत गरिएको छ। सबै पात्र हँसिलो मुद्रामा देखिएका छन् भने रातो माटोले लिपपोत गरिएको घर, आँगन र सँगै रहेको कुकुरले नेपाली मध्यमवर्गीय परिवारको आत्मीय परिवेश र दसैँको माहोल झल्काउँछ।
दोस्रो पोस्टरले भने कथामा आउने द्वन्द्व र रहस्यको संकेत गर्छ। झरना थापा र सुहाना थापाको अनुहारमा कौतुहलता र तनाव देखिन्छ भने दिव्यदेव पन्त र अनिल बुढाथोकी रिसाएको भावमा प्रस्तुत भएका छन्। पोस्टरमा रहेका माओत्से गुरुङको कुटिल मुस्कानले भने उनको पात्रप्रति थप रहस्य सिर्जना गरेको छ र उनी नकारात्मक भूमिकामा हुन सक्ने अनुमानलाई बल दिएको छ।
दुवै पोस्टरले एउटा खुसी परिवारमा अचानक आइपर्ने अप्रत्याशित घटनापछि सुरु हुने संघर्ष, सम्बन्धको उतारचढाव र त्यसलाई सम्हाल्ने यात्राको कथा फिल्मले प्रस्तुत गर्ने संकेत गर्छ।
निर्देशक हरि लम्सालका अनुसार फिल्मको मुख्य विषय नेपाली समाजमा सन्तानको भविष्यका लागि एक बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्नुपर्ने चुनौती हो।
फिल्ममा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा, अनिल बुढाथोकी र माओत्से गुरुङको अभिनय रहेको छ।
हरि लम्सालकै कथा, पटकथा र निर्देशन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। निर्माता वसन्त लम्साल हुन्, जसले यसअघि विपीन कार्की अभिनीत ‘कर्मा’ निर्माण गरेका थिए।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। कुवेर सिने डिस्ट्रिब्युसनमार्फत आशिष एच तामाङ र प्रदीप धामीले फिल्म वितरण गर्नेछन्।
‘बाः एक योद्धा’ भदौ १९ गते, अर्थात् कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यादेखि देशभर प्रदर्शनमा आउनेछ।
