काठमाडौं — साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म **‘गौँथली’**को ट्रेलरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्दै युट्युब ट्रेन्डिङमा स्थान बनाउन सफल भएको छ। चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर हाल नेपालमा फिल्मतर्फ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा रहेको छ।
ट्रेलरले सिर्जना गरेको चर्चा र भावनात्मक कथावस्तुले फिल्मप्रतिको उत्सुकता बढाएको छ। सामाजिक सञ्जाल र युट्युबमा दर्शकहरूले फिल्मको कथा, अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरिरहेका छन्।
युट्युबमा प्रतिक्रिया दिँदै एक दर्शक अकेन्द्र ठकुरीले लेखेका छन्, “यो फिल्मले ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोड्नुपर्छ।” अर्का एक दर्शकले टिप्पणी गरेका छन्, “नेपाली फिल्म भनेको यस्तो पो हुनुपर्छ, मन छुने। ट्रेलरमै अग्रिम शुभकामना, फिल्म सुपरहिट होस्।”
विशेषगरी अटिजम भएका युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनकी सहकलाकार सिम्रन खड्काको अभिनयले दर्शकको ध्यान तानेको छ। प्रचारप्रसारमा उनीहरूले देखाएको सक्रियतालाई पनि सकारात्मक रूपमा हेरिएको छ।
दर्शक अञ्जु थापाले ट्रेलर हेरेपछि प्रतिक्रिया दिँदै लेखेकी छन्, “ट्रेलरले नै रुवायो, पूरा फिल्मले त के गर्ला?” अर्का दर्शक छवि ओलीले पनि फिल्मको भावनात्मक प्रस्तुतिको प्रशंसा गर्दै लेखेका छन्, “पूरै फिल्म हलमै आँसु बगाएर हेर्नुपर्ने जस्तो लाग्यो। सशक्त अभिनय, संवाद र भावनाले मन छोयो।”
फिल्मले अटिजम भएका युवक, नवविवाहित दुलहीले भोग्ने संघर्ष, शिक्षा, सामाजिक मान्यता र सपनाबीचको द्वन्द्वलाई भावनात्मक रूपमा प्रस्तुत गरेको ट्रेलरबाट संकेत मिल्छ।
डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा सरला रिजाल कार्यकारी निर्माता, सुमन गिरी र डा. कपिल रिजाल निर्माता तथा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा रहेका छन्।
फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।
उल्लेखनीय रूपमा, ‘गौँथली’ शीर्षकमै डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। नयाँ संस्करण भने उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्।