३८ दिनमा सकियो प्रकाश सपुतको ‘वसन्त’

0 Shares

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशन ‘वसन्त’ को सम्पूर्ण छायांकन सकिएको छ।

निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा सिनेमाको सम्पूर्ण छायांकन सम्पन्न गरिएको हो। बुधबार सिनेमाको अन्तिम सट खिचेर काठमाडौंमा इन्डक्ल्याप गरिएको थियो।

आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमामा आफैं र आफ्नो टिमले निकै मेहनत गरेकाले आफूले सोचेको र खोजेको जस्तो रिजल्ट आउनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ।

प्रकाश सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानमा सिनेमाको छायांकन गरिएको छ।

सिनेमामा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ। ‘बसन्त’ एक सामाजिक ड्रामा हो जसको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र त्यसका लागि गर्नुपर्ने संघर्षको कथा भन्नेछ।

‘वसन्त’ गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने छ र यसको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन्। सिनेमाको छायांकन सुसन प्रजापतिले गरेका हुन्।

सम्बन्धित समाचार

सबै