काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री विपना थापा अभिनीत बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ आगामी असोज ३० गते, बडादसैंको फूलपातीदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि नै फिल्मले क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) समेत बिक्री गर्न सफल भएको छ।
आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको क्रोएसिया प्रदर्शन अधिकार नेप इन्टरटेन्मेन्ट (NEP Entertainment) र जाग्रेबस्थित बुद्ध मार्टले खरिद गरेका छन्। निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका वितरकबीच यससम्बन्धी औपचारिक सम्झौता सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ।
निर्माण टिमका अनुसार पछिल्लो समय क्रोएसियामा नेपाली समुदायको संख्या उल्लेखनीय रूपमा बढेकाले त्यहाँका वितरकले फिल्मप्रति चासो देखाएका हुन्। यसअघि नै फिल्मको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापानमा समेत बिक्री भइसकेको बताइएको छ।
चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको **‘आ बाट आमा २’**ले वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा वर्षौंदेखि बसिरहेकी आमाको भावनात्मक कथालाई प्रस्तुत गर्नेछ।
फिल्मको पोस्टरमा राखिएको ‘आउँछु भन्ने एउटा भुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन्’ भन्ने भावुक हरफले यसको मुख्य कथावस्तुको संकेत गर्छ।
आर्य पन्तको प्रस्तुतिमा बनेको फिल्ममा पल शाह र विपना थापासँगै आकाश श्रेष्ठ, प्रदीप रावत (फिल्म गजनीका चर्चित भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, दिलीप अखेडा र नरेन खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।
नेपालभर फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ। फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।