काठमाडौं । कुनै समय पाल्पाबाट बुटवल झरेर नेपाली फिल्मको सुटिङ हेर्ने करण सिंह आज नेपाली फिल्म उद्योगका अनुभवी फुल प्रोडक्सन एक्जुकेटिभ र कार्यकारी निर्मातामध्ये एक बनेका छन्। हाल प्रदर्शनरत सफल फिल्म ‘आ बाट आमा’का कार्यकारी निर्माता रहेका उनले दुई दशकभन्दा लामो यात्रामा ७० भन्दा बढी नेपाली फिचर फिल्ममा काम गरिसकेका छन्।
पाल्पाको तानसेनमा जन्मिएका करण सिंहले २०५८ साल असार २९ गते फिल्म ‘यस्तै रहेछ जिन्दगी’बाट फिल्म क्षेत्रमा पाइला राखेका थिए। सुरुवाती चरणमा उनले प्रोडक्सन हेल्परका रूपमा काम गरेका थिए। उनलाई फिल्म क्षेत्रमा ल्याउने व्यक्ति निर्माता तथा कलाकार स्वर्गीय केशव भट्टराई थिए, जसलाई उनी आज पनि आफ्नो ‘गडफादर’ मान्छन्।
करणका अनुसार उनले सुरुका तीन–चार फिल्ममा प्रोडक्सन हेल्परका रूपमा अनुभव बटुलेपछि १७ वर्षको उमेरमै फिल्म ‘हामी साथीभाइ’बाट फुल प्रोडक्सन एक्जुकेटिभको जिम्मेवारी पाएका थिए।
“दिलीप रायमाझी, सुनिल दत्त पाण्डे र निर्देशक रवि अर्यालले ममाथि विश्वास गरेर त्यो अवसर दिनुभएको थियो,” करण सम्झन्छन्।
हालसम्म उनले ७० भन्दा बढी नेपाली फिचर फिल्म, १० वटा विदेशी फिल्म तथा ३०० भन्दा बढी म्युजिक भिडियोमा फुल प्रोडक्सन एक्जुकेटिभका रूपमा काम गरिसकेका छन्।
सन् २०२१ मा सगरमाथा आधार शिविरमा आयोजित ‘Mount Everest Fashion Runway’मा उनले लाइन प्रोड्युसरको भूमिका निर्वाह गरेका थिए। उक्त कार्यक्रमले गिनिज वर्ल्ड रेकर्ड कायम गरेपछि उनले त्यसको आधिकारिक प्रमाणपत्र पनि प्राप्त गरेका थिए।
करणले फिल्म ‘मायावी’बाट कार्यकारी निर्माताका रूपमा डेब्यू गरेका थिए। त्यसपछि उनी निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा’मा कार्यकारी निर्माताका रूपमा जोडिए। उनले चन्द्र पन्तका अधिकांश फिल्ममा सहकार्य गर्दै आएका छन्।
फिल्म क्षेत्रमा आफ्नो प्रवेशबारे करण भन्छन्, “मेरो परिवारमा कोही पनि फिल्म क्षेत्रमा हुनुहुन्थेन। मलाई सानैदेखि फिल्मप्रति रुचि थियो। पढ्दापढ्दै यो क्षेत्रमा आएँ। आफूले मन पराएको पेशा अपनाउँदा असफलतामा पनि सफलताको अनुभूति हुन्छ। आज उद्योगभित्र मेरो आफ्नै पहिचान बनेकोमा गर्व लाग्छ।”
करणको अनुभवमा नेपाली दर्शकले परिवारका सबै सदस्यसँग बसेर हेर्न मिल्ने, भावनात्मक र आफ्नोपन झल्काउने फिल्मलाई बढी रुचाउने गरेका छन्।
उनले फिल्म ‘गोर्खा पल्टन’, ‘मायावी’ र ‘आ बाट आमा’ प्रदर्शनका क्रममा विभिन्न हलमा दर्शकसँगै बसेर फिल्म हेरेको अनुभव पनि सुनाए।
“दर्शकको मन छुने फिल्म बनाउन सकियो भने न दर्शकलाई धोका हुन्छ, न निर्माता र निर्देशकलाई। राम्रो कथावस्तु र इमान्दार प्रस्तुतिले सधैं परिणाम दिन्छ,” उनले भने।