काठमाडौं। टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’ पात्रबाट लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक नेपाली फिल्ममा मुख्य नायकको रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।
वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै दर्शकमाझ लोकप्रिय बनेका बेगमका लागि यो फिल्म अभिनय यात्राको नयाँ अध्याय बन्ने विश्वास गरिएको छ। सानो पर्दामा ‘भटभटे माइला’को पहिचान बनाएका उनी पहिलो पटक ठूलो पर्दामा मुख्य नायकको भूमिकामा देखिन लागेका छन्।
फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन् भने निर्माण रघुनाथ सापकोटाले गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन यही सातादेखि सुरु गरिने तयारी छ।
निर्माता रघुनाथ सापकोटाले फिल्ममा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको सशक्त उपस्थिति रहने जानकारी दिएका छन्। फिल्मका गीत गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कन सिनेमाटोग्राफर संकल भुजेलले गर्नेछन्।
यसअघि नै फिल्मका लागि गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, अभिनेत्री समिया कार्की तथा कमेडियन प्रभात लामा अनुबन्धित भइसकेका छन्।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुने ‘तीन तीघ्रे क्या बिग्रे’ ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ प्रस्तुत गर्ने निर्देशक अमरदीप सापकोटाको विश्वास छ।