‘चिरञ्जीवी भवः’को सेटमा भोगेको विभेदबारे पुनः बोलिन् काजल: ‘सत्य प्रमाणसहित सार्वजनिक गर्नेछु’

0 Shares

काठमाडौं। अभिनेत्री काजल कर्णले फिल्म ‘चिरञ्जीवी भवः’ सँग जोडिएको विवादबारे पहिलोपटक सार्वजनिक धारणा व्यक्त गर्दै आफूले भोगेको घटनाबारे सत्य प्रमाणसहित सार्वजनिक गर्ने बताएकी छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै कर्णले केही दिनयता आफ्नो नाम सामाजिक सञ्जाल र विभिन्न मिडियामा बारम्बार जोडिएको भन्दै अब मौन बस्न नसक्ने अवस्था आएको उल्लेख गरेकी छन्। उनका अनुसार यो विषय केवल फिल्मको सेटमा भएको एउटा घटनामात्र नभई आफ्नो अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषय हो।

उनले केही मिडिया र न्युज पोर्टलले सत्य नबुझी हल्ला र आकर्षक शीर्षकका आधारमा समाचार प्रकाशन गरेको आरोप लगाएकी छन्। यसले आफू मात्र नभई संघर्षरत अन्य कलाकारहरूलाई पनि असर पुगेको उनको भनाइ छ।

कर्णले फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (FAAN) मा इमेलमार्फत औपचारिक उजुरी दर्ता गरिसकेको र त्यससँग सम्बन्धित सम्पूर्ण प्रमाण पनि बुझाइसकेको जानकारी दिएकी छन्। समय आएपछि सबै प्रमाणसहित मिडियासामु उपस्थित हुने र त्यसपछि सत्य सबैका सामु आउने उनको दाबी छ।

उनले आफू न्यायका लागि अन्तिमसम्म लड्ने बताउँदै प्रमाण र सत्य नबुझी कसैलाई दोषी नठान्न सबैसँग आग्रह गरेकी छन्। साथै, यो आफ्नो आत्मसम्मान र सत्यका लागि गरिएको संघर्ष भएको उल्लेख गरेकी छन्।

काजल कर्णको फेसबुक स्टाटस्

सबैलाई हार्दिक नमस्कार,
केही दिनदेखि ‘चिरञ्जीवी भवः’ सँग जोडिएर मेरो नाम बारम्बार सामाजिक सञ्जाल र मिडियामा आइरहेको छ। मैले चुप लागेर बस्न सक्ने अवस्था अब रहेन, किनभने यो कुरा केवल एउटा फिल्मको सेटमा भएको घटना मात्र होइन — यो मेरो अस्तित्व, मेरो पहिचान र मेरो आत्मसम्मानसँग जोडिएको विषय हो।
मैले साँच्चै भोगेको कुरा भनेको हो
अहिले केही मिडिया र न्युज पोर्टलहरूले सत्य के हो भनेर नबुझी, केवल हल्ला र हेडलाइनको भोकमा यो विषयलाई गिजोल्ने काम गरिरहेका छन्। यसले मलाई मात्र होइन, मजस्तै संघर्ष गरिरहेका अरू धेरै कलाकारलाई पनि चोट पुर्याउँछ।
तर म भाग्दिन। मैले FAAN (फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल) मा email मार्फत औपचारिक उजुरी बुझाइसकेकी छु, र त्यससँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू पनि पेश गरिसकेकी छु। मलाई थाहा छ, सत्य ढाकिँदैन। समय आउँछ, र त्यो बेला म सबै प्रमाणसहित मिडियामा आउनेछु — त्यो दिन सबैले सत्य के हो थाहा पाउनेछन्।
म एक्लै लडिरहेकी छैन — मेरो आमा-बुवाको विश्वास, मेरो आफ्नै मेहनत, र सत्यको बल मसँग छ। न्याय पाउने अधिकार सबैको हो, र म त्यो अधिकारको लागि अन्तिम सम्मसम्म लड्नेछु।
कृपया प्रमाण र सत्य नबुझी कसैलाई पनि दोषी नठान्नुहोस्। यो लडाइँ जातीयतामाथिको, आत्मसम्मानमाथिको, र सत्यको हो।
धन्यवाद 🙏
— काजल कर्ण

सम्बन्धित समाचार

सबै