काठमाडौं। निर्देशक डा. कपिल रिजालको फिल्म ‘गौँथली’ प्रिमियर प्रदर्शनमै दर्शक र फिल्मकर्मीबाट उच्च प्रशंसा बटुल्न सफल भएको छ। सोमबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा आयोजित प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शकले यसको कथा, प्रस्तुति, निर्देशन र अभिनयको खुलेर प्रशंसा गरेका हुन्।
प्रिमियरमा सहभागी दर्शकहरूले ‘गौँथली’ ले नेपाली ग्रामीण समाजको यथार्थलाई संवेदनशील ढंगले पर्दामा उतारेको प्रतिक्रिया दिएका छन्। विशेषगरी २०६० को दशकअघिको ग्रामीण नेपाली समाजमा धेरै महिलाले भोग्नुपरेका सामाजिक र पारिवारिक पीडालाई फिल्मले प्रभावशाली रूपमा प्रस्तुत गरेको उनीहरूको भनाइ छ।
फिल्ममा सासू–बुहारीबीच जानाजान वा अनजानमा हुने व्यवहारले परिवार र व्यक्तिको जीवनमा पार्ने प्रभावलाई भावनात्मक तथा यथार्थपरक शैलीमा चित्रण गरिएको भन्दै निर्देशकको कामको प्रशंसा गरिएको छ।
दर्शकहरूले करिब २ घण्टा २० मिनेट लामो फिल्मले सुरुदेखि अन्त्यसम्म आफूहरूलाई बाँधेर राखेको प्रतिक्रिया दिएका छन्। कथा, प्रस्तुति र भावनात्मक उतारचढावले कतै पनि फिल्म लामो वा बोझिलो नलागेको उनीहरूको भनाइ थियो।
प्रिमियरमा उपस्थित कलाकार, फिल्मकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले नेपाली समाजको एक समयको वास्तविकतालाई नयाँ पुस्तासामु प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै लेखक तथा निर्देशकको खुलेर प्रशंसा गरेका छन्।
फिल्ममा अरुण क्षेत्रीले अटिजम भएका पात्र र सिम्रन खड्काले बुहारीको भूमिकामा गरेको अभिनयले विशेष प्रशंसा पाएको छ। दुवै कलाकारले पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया प्रिमियरमा सहभागी अधिकांश दर्शकको थियो।
प्रिमियरमा कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायत फिल्म क्षेत्रका थुप्रै परिचित व्यक्तित्वको उपस्थिति रहेको थियो। उनीहरूले फिल्मले नेपाली समाजको यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको भन्दै व्यावसायिक रूपमा पनि सफल हुने विश्वास व्यक्त गरे।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘गौँथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।
डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा गरेका हुन्। फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन्।
