काठमाडौँ । नेपाली फिल्म ‘हली’ ले नेपालमा प्रदर्शन हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सुरुवात गरेको छ। आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यो फिल्म साइप्रसमा प्रदर्शनअघि नै ‘सोल्ड आउट’ भएको निर्माण टिमले जनाएको छ।
निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार साइप्रस प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ। शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मलाई त्यहाँका वितरकले खरिद गरिसकेका छन्। निर्माण पक्षका अनुसार अहिले अमेरिका, युरोप, मध्यपूर्वलगायत अन्य मुलुकमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि तीव्र छलफल भइरहेको छ। सम्बन्धित देशका प्रदर्शन तालिका तय भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने बताइएको छ।
प्रचारात्मक गीत र पोस्टर सार्वजनिक भएयता ‘हली’ ले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। गत वर्ष व्यावसायिक रूपमा सफल फिल्म ‘मोहर’ निर्देशन गरेका निर्देशक तथा लेखक ओम प्रतीकको निर्देशनमा बनेको यस फिल्मले समाजमा सकारात्मक परिवर्तन ल्याउन एउटा व्यक्तिको भूमिकासमेत निर्णायक हुन सक्छ भन्ने सन्देश प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ।
व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको मुख्य अभिनय रहेको छ। निर्देशक ओम प्रतीक पनि विशेष भूमिकामा देखिनेछन्।
फिल्मको विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा नेपाली फिल्म उद्योगका चर्चित कलाकार दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन्। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने अन्य गीतमा ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा नृत्य निर्देशन गरेका छन्।
संगीत पक्षमा पनि फिल्म बलियो देखिएको छ। फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र गायिका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्म नेसनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
नेपाल रिलिजअघि नै विदेशबाट देखिएको उत्साहजनक प्रतिक्रियाले **‘हली’**ले घरेलु बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा निर्माण टिमले गरेको छ।