‘म मदनकृष्ण’को डिजिटल राइट कीर्तिमानी मूल्यमा बिक्री, ओएसआर डिजिटलसँग सम्झौता

0 Shares

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म **‘म मदनकृष्ण’**को डिजिटल प्रदर्शन अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। निर्माण टिमका अनुसार नेपालको अग्रणी डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले फिल्मको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै उच्च मूल्यमा डिजिटल राइट्स खरिद गरेको हो।

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुने तयारी छ। मदनकृष्ण श्रेष्ठको ७६ वर्षे जीवनयात्रामा आधारित बायोपिकको निर्माण घोषणा यसअघि असारको पहिलो सातामा गरिएको थियो।

फिल्ममा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्य, अन्तरजातीय विवाह, व्यक्तिगत संघर्ष, सफलता र जीवनका उतारचढावलाई समेटिने निर्माण पक्षले जनाएको छ।

निर्देशक मिलन चाम्सका अनुसार ओएसआर डिजिटलले नेपाली फिल्मको इतिहासमै सबैभन्दा उच्च मूल्यमा डिजिटल राइट्स खरिद गरेको छ।

‘ओएसआरले अहिलेसम्मकै उच्च मूल्यमा हाम्रो फिल्मको डिजिटल राइट्स खरिद गरेको छ। यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको परिणाम हो,’ निर्देशक चाम्सले भने।

नेपाली फिल्म उद्योगमा चर्चित व्यक्तित्वमाथि बायोपिक बन्ने क्रम नयाँ नभए पनि कुनै अभिनेताको जीवनमा केन्द्रित बायोपिक निर्माण हुन लागेको यो पहिलो पटक भएको निर्माण पक्षको दाबी छ।

फिल्ममा महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका निर्वाह गर्नेछन् भने केकी अधिकारीले उनकी पत्नी यशोदा श्रेष्ठको भूमिका निभाउनेछिन्। यस्तै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

यद्यपि मदनकृष्ण श्रेष्ठका अभिन्न सहयात्री हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषयलाई निर्माण टिमले अझै गोप्य राखेको छ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्। फिल्मको कथा तथा पटकथा यम थापाले लेखेका हुन् भने पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक कम्पोजर तथा भरत कँडेल साउन्ड डिजाइनरका रूपमा आबद्ध छन्।

भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने ‘म मदनकृष्ण’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै