काठमाडौं । आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतले फिल्मको प्रचार अभियानलाई थप गति दिएको छ।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ। डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियोसँगै यसको भिडियो पनि आकर्षक बनेको निर्माण टिमको विश्वास छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्।
आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मको निर्देशन राजबहादुर सानेले गरेका हुन्।
फिल्मका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोका निर्माता रहेका छन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन रहेको छ।
हरिप्रसाद सिवाकोटी लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्। क्यानडामा बसोबास गर्दै आएका उनले नेपालमा प्रदर्शन हुने मितिमै ‘लज्जावती’लाई क्यानडामा पनि रिलिज गर्ने तयारी गरिरहेका छन्।
फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहाडी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।
तारा थापा ‘किम्भे’को सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको ‘लज्जावती’लाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछ।