काठमाडौं । ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधिसहित ८ वटा स्क्रिनमा पुनः सञ्चालनमा आएको छ। नयाँ भवन निर्माणका कारण केही वर्षदेखि बन्द रहेको सिनेमा हल साउन १ गतेदेखि नयाँ स्वरूपमा दर्शकमाझ फर्किएको हो।
वि.सं. २०५२ मा सञ्चालनमा आएको गुण सिनेमाले करिब २७ वर्ष निरन्तर सेवा दिएको थियो। नयाँ भवन निर्माणका लागि २०७९ सालमा सञ्चालन बन्द गरिएको हल अब थप सुविधा र आधुनिक प्रविधिसहित पुनः खुलेको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले नयाँ भवन निर्माणका कारण केही वर्ष दर्शकलाई असुविधा भएको उल्लेख गर्दै अब पहिलेभन्दा थप सुविधा र एक अतिरिक्त स्क्रिनसहित सेवा सुरु गरिएको बताए।
क्युएफएक्सको व्यवस्थापनमा सञ्चालन हुने गुण सिनेमामा ४१ देखि २६० सिट क्षमता भएका आठवटा हल छन्। हलमा GDC Server, JBL Speakers, DTS:X, AIB 3000 Immersive Sound System, Barco 2K Laser Projector तथा Galalite Silver Screen जडान गरिएको छ।
दर्शकको सहजताका लागि प्रत्येक हलमा प्रिमियम सोफा सिट, पूर्ण एयर कन्डिसनिङ, आरामदायी लबी तथा हिमालयन जाभा कफीसहित विभिन्न खाना र स्न्याक्सको व्यवस्था गरिएको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली फिल्म उद्योगको विकासमा गुण सिनेमाले पुर्याएको योगदानको प्रशंसा गर्दै अत्याधुनिक सुविधा भएको आठ स्क्रिन सञ्चालनमा आउनु उद्योगका लागि सकारात्मक संकेत भएको बताए।
त्यसैगरी नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले नयाँ स्वरूपमा सञ्चालनमा आएको गुण सिनेमाले नेपाली फिल्मको बजार विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। क्युएफएक्सका प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।
यसअघि एउटै भवनमा ७ वटा स्क्रिन सञ्चालन गर्दै आएको गुण सिनेमा काठमाडौं उपत्यकाबाहिर काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीबाट समेत दर्शक आकर्षित गर्ने प्रमुख मल्टिप्लेक्समध्ये एक मानिन्थ्यो। निर्माता छबिराज ओझाले गुण सिनेमाको पुनः सञ्चालनसँगै नेपाली फिल्मको व्यापारमा पुरानै उत्साह फर्किने विश्वास व्यक्त गरे।
गुण सिनेमा प्रालिले यसअघि दरबारमार्गस्थित दरबार सिनेम्याक्स सञ्चालनमा ल्याइसकेको छ। ग्वार्कोस्थित नयाँ गुण सिनेमामा उद्घाटनसँगै नेपाली फिल्म ‘गौँथली’, हिन्दी फिल्म ‘धमाल ४’ र हलिउड फिल्म ‘द ओडिसी’ प्रदर्शनमा आएका छन्।