‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक, गुरुङ संस्कृतिसँगै प्रेम र संवेदनाको कथा

0 Shares

काठमाडौं । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। साउन ११ को अवसर पारेर सार्वजनिक गरिएको गीतले गुरुङ समुदायको मौलिक संस्कृति, प्रेम र जीवनभरको साथको भावलाई आकर्षक रूपमा प्रस्तुत गरेको छ।

सार्वजनिक गीतको भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र निर्देशक माओत्से गुरुङसहितका कलाकारको जीवन्त प्रस्तुति देख्न सकिन्छ। गुरुङ समुदायको भेषभूषा, परम्परा र ग्रामीण जीवनशैलीलाई कलात्मक ढंगले समेटिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा निर्माण टिमले गरेको छ।

गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत तथा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङप्रिया गुरुङको स्वर रहेको छ।

गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन्। संगीत संयोजनमा सञ्जीव बराइली (गितार), पोषण मगर (मादल), रत्न विश्वकर्मा (बाँसुरी) र मनीष गन्दर्भ (सारङ्गी)को प्रस्तुति रहेको छ भने मिक्सिङ जेनेरिक्सले गरेका छन्।

‘जुनी जाला’ले गुरुङ संस्कृतिमा आधारित मौलिक परिवेशमार्फत प्रेम, समर्पण र जीवनभर साथ निभाउने प्रतिबद्धतालाई चित्रण गरेको छ। गीतले फिल्मको कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशको समेत झलक दिन्छ।

निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनाको कथा हो, जसले जीवनमा लक्ष्य प्राप्तिका लागि आवश्यक संघर्षलाई प्रस्तुत गर्छ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङसँगै पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राईलुनिभा तुलाधरको अभिनय रहेको छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङले गरेका हुन्। सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठKer D. Koich Linuchको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ।

फिल्मका निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ)सपना गुरुङ हुन् भने डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका छन्। फिल्मका अन्य गीतमा शिव बराइलीसूरज तमुको शब्द तथा संगीत रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण टिमका अनुसार हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्डबेलायतका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल जारी छ।

हरितालिका तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनाको कथा दर्शकमाझ प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ।

सम्बन्धित समाचार

सबै