काठमाडौं । आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म **‘जदौ’**को शीर्ष गीत ‘जदौ हजुर…’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीत हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
डान्सिङ बिटमा तयार गरिएको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतका शब्द तथा संगीत बाबुल गिरीले तयार गरेका हुन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापाको आकर्षक प्रस्तुति देख्न सकिन्छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
अञ्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा तयार भएको फिल्म असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
गीत सार्वजनिक कार्यक्रममा गायक राजनराज शिवाकोटी र गायिका रचना रिमालले गीतको केही अंश प्रस्तुत गर्दै माहोल तताएका थिए। कार्यक्रममा बोल्दै राजनराजले यस गीतमा आफू पहिलोपटक केवल गायकका रूपमा सहभागी भएको बताए। गायिका रचनाले पनि राजनराजसँगको यो आफ्नो पहिलो फिल्मी युगल गायन भएको उल्लेख गरिन्।
समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
कार्यक्रममा अभिनेत्री नीति शाहले ‘जदौ’ हाल प्रदर्शनमा आइरहेका फिल्मभन्दा फरक र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुषालले आफूलाई फिल्ममा वास्तविक पात्रको रूपमा देख्न पाइने बताए भने अभिनेता प्रभातपाल ठकुरीले यो फिल्म आफ्नो करिअरका लागि विशेष रहेको उल्लेख गरे। यसै फिल्मबाट डेब्यु गरेकी अभिनेत्री राजश्री थापाले आफ्नो पहिलो प्रयासलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गर्ने अपेक्षा व्यक्त गरिन्।
निर्देशक अञ्जन शर्माले उत्कृष्ट फिल्म निर्माणका लागि कुनै कसर बाँकी नराखिएको बताए। सह-निर्देशक तथा लेखक काजी लिम्बुले फिल्मले मनोरञ्जनसँगै समाजोपयोगी सन्देश पनि दिने दाबी गरे।
फिल्मको छायांकन श्याम तामाङ र नवराज उप्रेतीले गरेका हुन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल सह-निर्माताका रूपमा आबद्ध छन्। सृजना शर्मा र मनीष शर्मा निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता हुन्। बिमला भण्डारी प्रोडक्सन हेड रहेको फिल्मलाई एनजीसीएन ग्रुपले देशव्यापी वितरण गर्नेछ।