‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’को आवेदन खुला, नयाँ प्रतिभाको खोजी सुरु

0 Shares

काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरले **‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’**का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। शुक्रबार सोल्टी होटलमा आयोजित कार्यक्रममा आयोजकले नयाँ संस्करणको अडिसन प्रक्रिया सुरु भएको घोषणा गरेको हो।

यस वर्षको प्रतियोगिता ‘Perfect As You Are’ (तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ) भन्ने नारासहित आयोजना हुँदैछ। आयोजकका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, आत्मविश्वासी, बौद्धिक तथा नेतृत्व क्षमता भएका महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो।

मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले यस संस्करणलाई अघिल्लाभन्दा अझ भव्य र व्यवस्थित बनाइएको बताइन्। उनका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले सेप्टेम्बर ६ मा सोल्टी होटलमै आयोजना हुनेछ।

आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबी पुरीले यस वर्षको प्रतियोगितामा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्ने जानकारी दिइन्। साथै, गैरआवासीय नेपाली (एनआरएन) महिलाले पनि प्रतियोगितामा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

मिस युनिभर्स नेपाल २०२५की विजेता सान्या अधिकारीको कार्यकालपछि सुरु भएको नयाँ संस्करणले नेपालभित्र तथा विदेशमा रहेका नेपाली युवतीलाई सहभागिताका लागि आह्वान गरेको छ। प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्।

आयोजकले ‘के तपाईं नै मिस युनिभर्स नेपाल २०२६ बन्ने अर्को व्यक्तित्व हुनुहुन्छ?’ भन्ने सन्देशसहित इच्छुक प्रतिस्पर्धीलाई आवेदन दिन आग्रह गरेको छ। यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र व्यक्तित्व विकासलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

आयोजकका अनुसार प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ।

यस वर्ष विद्युतीय सवारीसाधन ब्रान्ड ‘दिपल’ मुख्य प्रायोजकका रूपमा जोडिएको छ। त्यसैगरी एक्स–एजअमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध भएका छन्। सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि उत्कृष्ट वातावरण सिर्जना गर्न सबै साझेदार संस्था प्रतिबद्ध रहेको आयोजकले जनाएको छ।

मुख्य प्रायोजक दिपलका सीईओ विवेक सिकारियाले मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

आयोजकका अनुसार आवेदन प्रक्रिया सुरु भइसकेको छ। इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन्।

सम्बन्धित समाचार

सबै