काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ले प्रदर्शनअघि नै दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित विशेष प्रदर्शनमा हल दर्शकले भरिएको थियो भने फिल्मले उपस्थित दर्शक तथा फिल्मकर्मीबाट प्रशंसा बटुलेको छ।
विशेष प्रदर्शनपछि अधिकांश दर्शक र फिल्मकर्मीले छाउपडी प्रथाजस्तो संवेदनशील सामाजिक विषयलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको भन्दै निर्माण टिमको खुलेर प्रशंसा गरे। दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले निर्देशक ओम प्रतीक तथा निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ उत्साहित बनेका छन्।
बालिकाहरूले छाउपडी प्रथाका कारण भोग्नुपरेको पीडा, विभेद र सामाजिक अन्यायलाई केन्द्रमा राखेर निर्माण गरिएको **‘हली’**ले सामाजिक परिवर्तनको सशक्त सन्देश दिन खोजेको छ। यसअघि सार्वजनिक गरिएको ट्रेलर, पोस्टर र प्रमोशनल गीतले पनि दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ।
फिल्मको कथा तथा पटकथा निर्देशक ओम प्रतीक स्वयंले लेखेका हुन्। जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा बनेको फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।
व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठ निर्माताको रूपमा रहेका फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।
फिल्मको विशेष आकर्षणका रूपमा समावेश प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुत गरिएको छ।
राहुल राईको छायांकन रहेको फिल्ममा रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। संगीततर्फ शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाज रहेका छन्। निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीत फिल्ममा समावेश गरिएको छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।
फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।