काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म **‘बेहुली’**को पहिलो गीत **‘दिलमा ठाउँ छ’**ले सार्वजनिक भएको ४८ घण्टामै टिकटक र युट्युबमा उल्लेखनीय सफलता हासिल गरेको छ।
सार्वजनिक भएको दुई दिन नपुग्दै गीतमा ५० हजारभन्दा बढी टिकटक भिडियो निर्माण भएका छन्, जुन नेपाली फिल्म उद्योगका लागि दुर्लभ उपलब्धिका रूपमा हेरिएको छ। यस्तै, ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले ६ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ भने यसको दर्शक संख्या तीव्र रूपमा बढिरहेको निर्माण पक्षले जनाएको छ।
लोक स्वादमा तयार गरिएको गीत अहिले विभिन्न उमेर समूहका दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेको छ। टिकटकमा सर्वसाधारणदेखि कलाकार र कन्टेन्ट क्रिएटरसम्मले गीतको हुक–स्टेपमा भिडियो बनाइरहेका छन्। छोटो समयमै डिजिटल प्लेटफर्ममा देखिएको उच्च सहभागिताले फिल्मप्रति दर्शकको चासो बढाएको देखिन्छ।
गीतमा फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। लोकप्रिय गायिका अञ्जु पन्तसँगै गायक प्रशान्त सिवाकोटी र रवि ओडले स्वर दिएका छन्। भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको नृत्य प्रस्तुत गरिएको छ भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्।
भिडियोमा पारस र दिव्या बेहुला–बेहुलीको पहिरनमा देखिएका छन्, जसले फिल्मको कथावस्तु विवाह र त्यससँग जोडिएका घटनामा केन्द्रित रहेको संकेत गर्छ। भिडियोमा सुशान्त कार्की र पदम तामाङको विशेष उपस्थितिले पनि दर्शकको ध्यान आकर्षित गरेको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेका छन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता हुन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
फिल्ममा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक, योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक हुन्। यमप्रसाद ओली प्रोडक्सन हेड, किशोर नेपाल प्रोडक्सन डिजाइनर, राजु वाइबा मेकअप आर्टिस्ट तथा एलेक्स बासुकला पहिरन डिजाइनर रहेका छन्।
फिल्मको काठमाडौं उपत्यकाभित्रको वितरण काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।