‘मिस नेपाल’ले आत्मविश्वास बढायो : फिनालेअघि कशिश सुब्बा लिम्बुको अनुभव

0 Shares

काठमाडौं । मिस नेपाल २०२६की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा परिवर्तनकारी अनुभव बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस प्रतियोगिताले आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तिगत विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी हुन्।

आफ्नो अनुभव साझा गर्दै कशिशले मिस नेपालको मञ्चले आफूलाई अझ नजिकबाट चिन्ने र आफ्नै क्षमतामाथि विश्वास गर्न सिकाएको बताइन्।

“मिस नेपालको स्टेजले मेरो आत्मविश्वास निकै बढाएको छ। म धेरै कुरा गर्न सक्छु भन्ने विश्वास यही यात्राले दिएको हो,” उनले भनिन्।

फेशन मोडल, फेशन स्टाइलिस्ट र फेशन डिजाइनर बन्ने लक्ष्य बोकेकी कशिशले मिस नेपालबाट प्राप्त अनुभव आफ्नो भविष्यको करिअरका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार प्रतियोगिताले व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई थप मजबुत बनाएको छ।

ग्रान्ड फिनालेका लागि अन्तिम तयारीमा जुटेकी कशिशले आत्मविश्वास, कृतज्ञता र सकारात्मक सोचका साथ प्रतिस्पर्धामा उत्रिने बताएकी छन्। उनले हालसम्म आफूलाई साथ, समर्थन र मतदान गर्ने सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्न आग्रह गरेकी छन्।

मिस नेपाल २०२६को ग्रान्ड फिनाले अगस्ट १ मा आयोजना हुने तय भएको छ।

सम्बन्धित समाचार

सबै