काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार दुईवटा पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमध्ये एकमा कथावाचकका रूपमा परिचित साइग्रेस पोखरेल बाइकको पछाडि बसेर कतै जाँदै गरेको देखिएका छन्। पोस्टरले फिल्मको नामअनुसार उनी हास्य भूमिकामा रहेको संकेत गर्छ। हँसिलो अनुहारमा प्रस्तुत साइग्रेसको कोटको गोजीमा फिल्म पत्रकारको परिचयपत्र (प्रेस कार्ड) पनि देख्न सकिन्छ।
अर्को पोस्टरमा भने साइग्रेसले फिल्म पत्रकारको प्रेस कार्ड बोकेको देखिन्छ। उक्त पोस्टरमा उनी पठाओ बुक गरिरहेको दृश्य समावेश गरिएको छ, जसले उनी पत्रकारको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ।
जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा साइग्रेसले भने, “मैले ‘आ बाट आमा’ खेलेपछि अब अभिनय गर्दिनँ भन्ने सोचेको थिएँ। तर यो त नशा रहेछ। ‘फलानो ढिस्कानो’को कथा मन परेकाले यो फिल्ममा आबद्ध भएको हुँ।”
फिल्ममा साइग्रेसबाहेक अन्य कलाकारको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमले क्रमशः अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिँदै जाने जनाएको छ।
फिल्मको निर्देशन राजकुमारले गर्नेछन्। उनका अनुसार फिल्मको छायांकन आगामी दसैंपछि सुरु हुनेछ।
