साइकोलोजिकल मिस्ट्री थ्रिलर ‘पञ्चमी’ घोषणा, सौगात बस्नेत निर्देशकको रूपमा डेब्यु गर्दै

0 Shares

काठमाडौं । नेपाली फिल्म ‘पञ्चमी’ को औपचारिक घोषणा गरिएको छ। लामो समयदेखि पर्दापछाडि रहेर नेपाली फिल्म उद्योगमा सक्रिय सौगात बस्नेतले यसै फिल्ममार्फत निर्देशकको रूपमा डेब्यु गर्न लागेका हुन्।

निर्माण टिमले बिहीबार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो। पोस्टरले ‘पञ्चमी’लाई साइकोलोजिकल मिस्ट्री थ्रिलरका रूपमा प्रस्तुत गर्दै रहस्य र प्रतीकात्मक शैलीमार्फत दर्शकमाझ उत्सुकता बढाएको छ।

सौगात बस्नेतले यसअघि निर्देशक दीपेन्द्र के. खनाललगायतसँग चिफ एडी (Chief Assistant Director) र कार्यकारी निर्माताको रूपमा काम गरिसकेका छन्। निर्देशनमा भने यो उनको पहिलो फिल्म हो।

सार्वजनिक थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको देखिन्छ। त्यसमाथि त्रिशूल, दुई नाग, शीर्षकलाई घेरेका पाँचवटा घेरा, बाहिरी भागमा नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र राखिएको छ। निर्देशक बस्नेतका अनुसार यी सबै प्रतीक फिल्मका पात्र र कथासँग प्रत्यक्ष रूपमा जोडिएका छन्, जसको अर्थ फिल्म प्रदर्शनपछि मात्रै खुल्नेछ।

पोस्टरमा रहेको ‘I Hate Whoever Comes Late’ भन्ने वाक्यांशले पनि थप रहस्य सिर्जना गरेको छ। यो संवाद कसका लागि र कुन सन्दर्भमा प्रयोग गरिएको हो भन्नेबारे निर्माण पक्षले अहिले खुलाएको छैन।

निर्देशक बस्नेतले भने, “टाइटल डिजाइन अहिले हेर्दा केही जटिल लाग्न सक्छ। तर फिल्म हेरेपछि यसको अर्थ सहज रूपमा बुझिनेछ। पोस्टरका सबै प्रतीक कथासँग सम्बन्धित छन् र त्यसबेला यसको औचित्य पुष्टि हुनेछ। यो एउटा साइकोलोजिकल मिस्ट्री थ्रिलर हो।”

‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासमा आधारित फिल्म हो। तर कुन उपन्यास र कुन लेखकको कृतिलाई रूपान्तरण गरिएको हो भन्ने विषय भने निर्माण पक्षले गोप्य राखेको छ।

फिल्मका कलाकार, पटकथा लेखक तथा प्राविधिक टिमबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। निर्माण टिमका अनुसार आगामी दिनमा क्रमशः थप विवरण सार्वजनिक गरिनेछ।

रहस्यमयी पोस्टरसँगै पहिलो निर्देशकीय प्रयासमै साइकोलोजिकल मिस्ट्री थ्रिलर रोजेका सौगात बस्नेतको फिल्म ‘पञ्चमी’ ले नेपाली फिल्म उद्योगमा सुरुदेखि नै नयाँ उत्सुकता सिर्जना गरेको छ।

सम्बन्धित समाचार

सबै